काठमाडौं । बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भई काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले उपभोक्तालाई राहत दिने वैकल्पिक व्यवस्था गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास नपाएको अवस्थामा त्यही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।
मन्त्रालयका अनुसार यो व्यवस्था हाललाई काठमाडौं उपत्यकाभित्र मात्र लागू हुनेछ । उपभोक्तालाई तत्काल ग्यास उपलब्ध गराउने उद्देश्यले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगहरूलाई व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।
बाढीका कारण सिर्जना भएको आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिन यो निर्णय गरिएको मन्त्रालयको भनाइ छ ।
मन्त्री यादवले विषम परिस्थितिमा उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारको निर्देशनविपरीत काम गर्ने व्यवसायीलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएकी छन् ।