काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ ।गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कोषमा जम्मा भएको रकममध्ये नौवटा वाणिज्य बैंकका खातामा आठ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात रहेको छ । यस्तै, दुईवटा वाणिज्य बैंकमा दुई करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ ।
यसअघि बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ ।
भोटेकोशी बाढीपछि सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो । त्यसपछि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम सङ्कलन गरी कोषमा दाखिला गरिएको हो । -रासस