गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

939 Shares

काठमाडौं । कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि पितृभक्तहरूको घुइँचो लागेको छ। दिवंगत पिताप्रति श्रद्धा व्यक्त गर्न तथा धार्मिक विधिअनुसार तर्पण, पिण्डदान र श्राद्ध गर्न भक्तजनहरू गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाम पुगेका हुन्।

कुशेऔँसीका दिन वर्षभरिका धार्मिक कर्ममा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेको छ। धार्मिक मान्यताअनुसार कुशलाई भगवान् विष्णुको स्वरूपका रूपमा मानिन्छ।

गोकर्णेश्वरमा आज बिहानैदेखि दिवंगत पिताको सम्झनामा तर्पण, आमान्न तथा पिण्डदान गर्नेहरूको भीड लागेको छ। धार्मिक विश्वासअनुसार भाद्रपद कृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध तथा तर्पण गर्दा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने मान्यता रहेको छ।

गोकर्णेश्वर मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको धार्मिक विश्वास रहेको यस तीर्थस्थलमा श्राद्ध तथा तर्पण गर्दा पितृले मुक्ति पाउने धर्मशास्त्रमा उल्लेख छ।

बौद्ध धर्मावलम्बीहरूमा पनि बाबुको निधन भएको एक वर्षभित्र गोकर्णेश्वर पुगेर श्राद्ध तथा पूजाआजा गर्ने परम्परा रहेको बौद्ध धर्मगुरु ऐतमान लामाले बताएका छन्। यस दिन गोकर्णेश्वर महादेवको दर्शन गरे दिवंगत बाबुको प्रतीकात्मक दर्शन भएको मानिने धार्मिक विश्वास छ।

भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वरमा मेला लाग्ने भएकाले यसलाई ‘गोकर्णे औँसी’ समेत भनिन्छ। धार्मिक मान्यताअनुसार पशुपतिनाथको दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने विश्वास रहिआएको छ।

 
 
 
सम्बन्धित समाचार