बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, यी सडकखण्डमा यातायात अवरुद्ध

610 Shares

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकखण्डमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काठमाडौँ–धादिङ सडक, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, टोखा–छहरे सडक, सहिद राजमार्ग, मुगु–गमगढी सडकलगायतका सडकखण्डमा बाढी तथा पहिरोको प्रभाव देखिएको छ।

धादिङको बेनीघाट रोराङ–७ स्थित कृष्णभिर र गजुरी–२ चालिसेमा पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। परेवाभिर र ज्वाङखोलामा भने एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरोका कारण काठमाडौँ–धादिङ सडक एकतर्फी सञ्चालनमा छ। ललितपुरको भट्टेडाँडामा पनि पहिरोका कारण कान्ति लोकपथ प्रभावित भएको छ।

काभ्रे खण्डको बीपी राजमार्गमा बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा समय सीमा तोकिएको छ। साँझदेखि बिहानसम्म निश्चित प्रकारका मालवाहक सवारीमा रोक लगाइएको छ भने दिनको समयमा सडकको अवस्था हेरेर मात्र यातायात सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।

रसुवाको उत्तरगया–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

यसैगरी, लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्ग पहिरोका कारण बन्द भएको छ। कर्णाली प्रदेशमा मुगु–गमगढी सडकखण्ड तथा कालीकोटको कर्णाली राजमार्गअन्तर्गत गगने खोलामा पहिरो जाँदा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण पहाडी तथा हिमाली जिल्लाका सडकमा जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम रहेकाले प्रहरीले यात्रुहरूलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। वर्षा भइरहेको समयमा जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्न र सुरक्षाका उपाय अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ।

1_c8NyLwhtMj.webp

सम्बन्धित समाचार