काठमाडौँ । देशभर आज मौसम सामान्यतया बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार दिउँसो हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी, दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
त्यसैगरी देशका पहाडी तथा तराई भू-भागका केही स्थानमा राति पनि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी प्रदेशको तराई भू-भागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
महाशाखाले वर्षा, चट्याङ तथा सम्भावित हिमपातका कारण दैनिक जनजीवन, सडक यातायात र पर्वतीय क्षेत्रको गतिविधिमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।