काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले कर्णाली शिवराजलाई सोझो सेटमा पराजित गर्दै एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार भएको फाइनलमा अन्नपूर्णले कर्णालीलाई २५–१५, २५–२० र २५–१८ ले हराउँदै ऐतिहासिक उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो। नेपाली घरेलु भलिबलमा यो सर्वाधिक पुरस्कार राशि भएको बताइएको छ।
फाइनलमा अन्नपूर्णले सुरुवातदेखि नै कर्णालीमाथि दबाब बनायो। मंगोलियाका राष्ट्रिय टोलीका खेलाडी उरानबायर मन्खबायर, इन्ख एर्डेन जारगालसोट र तुर्मान्डाख गान्खुयागको आक्रामक खेलसँगै अन्नपूर्णले पहिलो सेटमा कर्णालीलाई सहजै रोक्यो।
अन्नपूर्णले पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै फाइनलमा बलियो सुरुवात गर्यो। कर्णालीले केही समय खेलमा फर्किने प्रयास गरे पनि अन्नपूर्णको आक्रमण र ब्लक संयोजन प्रभावकारी रह्यो।
दोस्रो सेटमा अन्नपूर्ण ५–२ ले अघि रहेका बेला रेफ्रीको एउटा निर्णयलाई लिएर कर्णाली असन्तुष्ट बन्यो। फस्ट रेफ्री विजय केसीले अन्नपूर्णको पक्षमा अंक दिएपछि कर्णालीका कप्तान पहल गहतराजसहित खेलाडी, प्रशिक्षक र टोलीका अधिकारी कोर्टबाट बाहिरिए। त्यसपछि खेल केही समय रोकियो र कर्णालीले करिब २० मिनेट खेल बहिष्कार गर्यो।
नेपाल भलिबल संघका उपाध्यक्ष भरतबहादुर शाह र लिगका इन्टिग्रिटी अफिसर श्रवणकुमार झालगायतले मध्यस्थता गरेपछि कर्णाली पुनः कोर्टमा फर्किएको थियो।
खेल पुनः सुरु भएपछि भने कर्णालीले आफ्नो लय समात्न सकेन। अन्नपूर्णले दोस्रो सेट २५–२० ले जित्दै खेलमा २–० को अग्रता बनायो। विवादकै क्रममा कर्णालीका एक समर्थकले कोर्टतर्फ पानीको बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले उनलाई हलबाट बाहिर निकालेका थिए।
दुई सेट गुमाइसकेको कर्णालीका लागि तेस्रो सेट जित्नु अनिवार्य थियो। तर अन्नपूर्णले आफ्नो दबाब कायम राख्यो। मंगोलियाली खेलाडीको आक्रमणसँगै हिमाल सुनारी, सुरेन्द्र केसी, जितबहादुर शार्की, देव राना र जापानबाट आएका रवि केसीले पनि महत्त्वपूर्ण योगदान दिए।
अन्ततः अन्नपूर्णले तेस्रो सेट २५–१८ ले जित्दै फाइनल ३–० ले आफ्नो पक्षमा पार्यो र एनभीएलको पहिलो च्याम्पियन बन्न सफल भयो।
अन्नपूर्णको उपाधि यात्रा अझ रोचक छ। लिग चरणको पहिलो खेलमै अन्नपूर्ण कर्णाली शिवराजसँग ३–१ ले पराजित भएको थियो।
तर त्यसपछि टोलीले लगातार पाँच खेल जित्दै उपाधि उचाल्यो। अन्नपूर्णले काठमाडौं रेड्सलाई सोझो सेटमा, मधेश वारियर्सलाई ३–१, खप्तड फाल्कन्स सुदूरपश्चिमलाई ३–० र सगरमाथा स्म्यासर्सलाई ३–१ ले पराजित गर्दै लिग चरणको शीर्ष स्थान हासिल गरेको थियो।
चार जितबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रहेको अन्नपूर्ण सिधै फाइनल पुगेको थियो। उता कर्णालीले प्लेअफमा काठमाडौं रेड्सलाई ३–१ ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो।
यसरी फाइनलमा अन्नपूर्णले लिग चरणमा बेहोरेको हारको बदला मात्रै लिएन, पहिलो संस्करणकै उपाधि आफ्नो नाममा लेखायो।
अन्नपूर्णको उपाधिमा मंगोलियाली खेलाडीहरूको प्रदर्शन निर्णायक रह्यो। विशेषगरी उरानबायर मन्खबायरले फाइनलमा प्रभावशाली प्रदर्शन गरे। उनी फाइनलका प्लेयर अफ द म्याच घोषित भए। पछि प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी अर्थात् एमभीपी पनि उरानबायर नै चुनिए। उनले एमभीपी अवार्डबापत १ लाख रुपैयाँ पुरस्कार पाए।
अन्नपूर्णकै तुर्मान्डाख गान्खुयागले उत्कृष्ट सर्भर र उत्कृष्ट सेटरको अवार्ड पाए भने इन्ख एर्डेन जारगालसोट उत्कृष्ट अपोजिट हिटर बने। कर्णालीका विनोदबहादुर चन्द उत्कृष्ट लिबेरो, मधेश वारियर्सका रविन नगरकोटी उत्कृष्ट मिडल ब्लकर तथा काठमाडौं रेड्सका अहमद मुस्ताफा खान उत्कृष्ट आउटसाइड हिटर घोषित भए। विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाए।
एनभीएल नेपाली पुरुष भलिबलमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज लिग हो। नेपाल भलिबल संघको सहकार्यमा केडिया ग्रुपले आयोजना गरेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी थिए।
अन्नपूर्ण स्पाइकर किंग्सले गण्डकी प्रदेशको प्रतिनिधित्व गरेको थियो। टोलीमा नेपाली खेलाडीका साथै मंगोलियाको राष्ट्रिय टोलीका तीन खेलाडीलाई समेटिएको थियो। पहिलो खेलमा पराजित भए पनि त्यसपछि लगातार जित निकाल्दै फाइनलमा पुगेको अन्नपूर्णले अन्तिम खेलमा त्यही कर्णालीलाई नै ३–० ले हराएर इतिहास रचेको हो।
यससँगै अन्नपूर्ण स्पाइकर किंग्स नेपाली पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिग एनभीएलको पहिलो च्याम्पियन बनेको छ।