काठमाडौं । नेपाल ट्रायथलन संघले दशौँ राष्ट्रिय खेलकुदमा ट्रायथलन समावेश नगरिएकोप्रति दुःख व्यक्त गर्दै प्रतियोगितामा खेललाई ‘लेट इन्ट्री’मार्फत समावेश गराउन पहल भइरहेको जनाएको छ।
शनिबार सम्पन्न संघको नवौँ वार्षिक साधारण सभामा अध्यक्ष निलेन्द्रराज श्रेष्ठले यसअघिका सबै राष्ट्रिय खेलकुदमा ट्रायथलन समावेश हुँदै आएको उल्लेख गर्दै यसपटक प्राविधिक कारण देखाएर खेललाई बाहिर राखिनु दुःखद भएको बताए।
सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदमा ट्रायथलनलाई अन्तिम चरणमा भए पनि समावेश गराउन सरोकारवाला निकायसँग निरन्तर छलफल भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनका अनुसार ट्रायथलनलाई राष्ट्रिय खेलकुदमा समावेश गर्ने विषयमा सकारात्मक वातावरण बनेको छ।
अध्यक्ष श्रेष्ठले जापानको आइची–नागोयामा आयोजना हुने आगामी एसियाली खेलकुदमा नेपालबाट ट्रायथलनतर्फ खेलाडी सहभागी नहुने जानकारी पनि दिए। उनका अनुसार उक्त प्रतियोगितामा नेपालबाट चाहना शाह र पुष्परत्न वज्राचार्य टेक्निकल अफिसरका रूपमा मात्र सहभागी हुनेछन्।
साधारण सभामा विश्व ट्रायथलन संघका अध्यक्ष एन्टोनियो एरिमानीले भिडियो सन्देशमार्फत नेपालमा हालै आएको बाढीपहिरोप्रति समवेदना व्यक्त गरेका थिए। उनले विपद्का कारण प्रभावित नेपालीप्रति सहानुभूति व्यक्त गर्दै विश्व ट्रायथलन संघ नेपाल र नेपाली ट्रायथलन समुदायको साथमा रहेको बताएका थिए।
नेपाल ट्रायथलन संघका अध्यक्ष श्रेष्ठका अनुसार बाढीपहिरोबाट प्रभावितको सहयोगका लागि विश्व ट्रायथलन संघले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।
काठमाडौंमा सम्पन्न साधारण सभामा संघका मानार्थ अध्यक्ष गणेशमान पुन प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष विश्वशंकर पालिखे विशेष अतिथिका रूपमा सहभागी थिए। सभामा महासचिव युवराज सुनारले संघको वार्षिक कार्यक्रम तथा आगामी योजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै, कोषाध्यक्ष निरज श्रेष्ठले आर्थिक वर्षको आय–व्यय विवरण सभासमक्ष पेस गरेका थिए।
संघले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता बढाउने, खेलको संस्थागत विकास गर्ने तथा अन्तर्राष्ट्रिय निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ।
दशौँ राष्ट्रिय खेलकुदमा ट्रायथलन समावेश गराउन भइरहेको पहल भने अब सम्बन्धित निकायको निर्णयमा निर्भर हुनेछ। संघले यसलाई राष्ट्रिय खेलकुदबाट बाहिर राखिँदा खेलाडीको प्रतिस्पर्धात्मक अवसर र तयारीमा असर पर्ने भन्दै अन्तिम समयसम्म पनि समावेश गराउन पहल जारी राख्ने जनाएको छ।