राम्दीको नयाँ पुलको भारवहन परीक्षण सफल, २४० टनसम्मको भार धान्यो-यातायात सञ्चालन सहज हुने

883 Shares

स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीको राम्दीमा निर्माण भएको नयाँ ‘टाइड आर्च’ मोटरेबल पुल भारवहन क्षमता परीक्षणमा सुरक्षित देखिएको छ ।

पुल सेक्टर पोखराले गरेको परीक्षणका क्रममा पुलमा अधिकतम ३० मिलिमिटर मात्र लचकता देखिएको पुल सेक्टर पोखराका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार पुलको डिजाइन भारवहन क्षमता १४६ टन रहे पनि परीक्षणका क्रममा एकैपटक २४० टनसम्म भार बोकेका सवारीसाधन राख्दा पनि पुल सुरक्षित देखिएको हो ।

परीक्षणका क्रममा दुई, चार र छ वटा ट्रकलाई विभिन्न चरणमा पुलमा राखेर भारवहन क्षमता जाँच गरिएको थियो । तापक्रमलगायतका कारण पुलको भारवहन क्षमतामा केही फरक पर्न सक्ने भए पनि परीक्षणबाट प्राप्त परिणामका आधारमा पुल सुरक्षित रहेको अधिकारीले बताए ।

पुल सेक्टर पोखराका अनुसार नयाँ पुल ‘कंक्रिट फिल स्टिल ट्युब आर्च ब्रिज’ प्रविधिमा निर्माण गरिएको हो । यसको डिजाइन थाइल्यान्डका डिजाइनरले गरेका हुन् । चीन र दुबईलगायतका स्थानमा यस्तो प्रविधिबाट पुल निर्माण भए पनि नेपालमा भने राम्दीमा पहिलोपटक यो प्रविधि प्रयोग गरिएको जनाइएको छ ।

एक स्पानमा निर्माण भएको पुल १२० मिटर लामो र ११ मिटर चौडा छ । यो पुल २०२८ सालमा निर्माण भएको पुरानो ट्रस पुलभन्दा २७ मिटर लामो छ ।

तीन वर्षमा सक्ने सम्झौता, निर्माणमा ढिलाइ

नयाँ पुल निर्माणका लागि २०७९ असार ३० गते हिम सगरमाथा प्रालि, चितवनसँग तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर डिजाइन समयमै तयार नहुनु तथा निर्माण सामग्री भारत र आवश्यक प्राविधिक विज्ञ चीनबाट समयमै उपलब्ध हुन नसक्दा निर्माणमा ढिलाइ भएको हो ।

नयाँ पुल २७ करोड ७१ लाख ९ हजार ६ सय रुपैयाँ लागतमा निर्माण गरिएको हो । पुरानो ट्रस पुल जीर्ण हुँदै गएपछि बढी भार बोकेका सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको थियो ।

नयाँ पुल सञ्चालनमा आएपछि जीर्ण पुरानो पुलमा जोखिम मोलेर यातायात सञ्चालन गर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ । भारवहन क्षमता परीक्षणसमेत सफल भएपछि राम्दी हुँदै आवतजावत गर्ने सवारीसाधनलाई थप सहज हुने भएको छ ।

२०२८ सालमा बनेको थियो पुरानो पुल

राम्दीको पुरानो ट्रस पुल सिद्धार्थ राजमार्ग निर्माणसँगै निर्माण सुरु गरिएको थियो । २०२२ सालमा निर्माण थालिएको उक्त पुल २०२८ सालमा सम्पन्न भएको थियो । तत्कालीन प्रधानमन्त्री कृतिनिधि विष्टले पुलको उद्घाटन गरेका थिए ।

लामो समयदेखि प्रयोगमा रहेको पुरानो पुल जीर्ण भएपछि त्यसको विकल्पका रूपमा नयाँ आर्च पुल निर्माण गरिएको हो । नयाँ पुलले गण्डकी र लुम्बिनी प्रदेशबीचको यातायातलाई थप सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार