कोरलानाकाबाट बढ्यो चिनियाँ सामानको आयात, ६४१ विद्युतीय सवारीसहित ४३४ कन्टेनर भित्रिए

988 Shares

मुस्ताङ । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि नेपाल–चीन उत्तरी कोरलानाकामा चहलपहल बढेको छ । रसुवागढी र तातोपानी नाका बन्द हुँदा चिनियाँ मालवस्तुको आयात कोरलानाकातर्फ मोडिएपछि मुस्ताङ भन्सार कार्यालयको राजस्व संकलनसमेत उल्लेख्य रूपमा बढेको हो ।

लोमान्थाङ गाउँपालिका–४ स्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमा मात्रै १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि कोरलानाकाबाट चिनियाँ मालवस्तुको आयात बढेको हो । उनका अनुसार भदौ २२ गतेपछि कोरलानाकाबाट दैनिक औसत ३० करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन भइरहेको छ ।

शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले २७ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । सो दिन ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको थियो ।

रसुवागढी नाका भदौ १० गते बन्द भएपछि भदौ २५ गतेसम्म कोरलानाकाबाट ४३४ कन्टेनर र ६४१ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । ती सबैको मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास गरिएको छ ।

चालु आर्थिक वर्षमा २ अर्ब ३१ करोड राजस्व

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाकाबाट भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबाट २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ ।

भन्सार कार्यालयका अनुसार भदौ ९ गतेसम्म कोरलानाकाबाट १३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए । त्यसपछि रसुवागढी नाका बन्द भएसँगै कोरलानाकाबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको हो ।

गत वर्षदेखि वैकल्पिक नाकाका रूपमा प्रयोग

कोरलानाका यसअघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै बाह्रै महिना खुला हुने गरेको थियो । तर तातोपानी र रसुवागढी नाका बाढी, पहिरो तथा नदी कटानका कारण अवरुद्ध भएपछि सरकारले गत वर्ष भदौ ३१ गतेदेखि कोरलानाकालाई वैकल्पिक निकासी तथा पैठारी नाकाका रूपमा सञ्चालनमा ल्याएको थियो ।

गत आर्थिक वर्ष २०८२/८३ मा कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सार कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

सो अवधिमा आयाततर्फ १४ अर्ब ४१ करोड रुपैयाँ र निर्याततर्फ २० करोड ५० लाख रुपैयाँ बराबरका मालवस्तुको कारोबार भएको थियो । त्यस्तै, कोरलानाकाबाट ३ हजार २२३ विद्युतीय सवारीसाधन र १ हजार ८७३ कन्टेनरको भन्सार जाँचपास गरिएको थियो ।

रसुवागढी र तातोपानी नाकाको अवरोधका कारण कोरलानाका अहिले नेपालको चीनसँगको उत्तरी व्यापारका लागि महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा देखिएको छ । नाका हुँदै आयात बढेसँगै मुस्ताङ भन्सारको राजस्व संकलनमा समेत त्यसको प्रत्यक्ष प्रभाव परेको छ ।

सम्बन्धित समाचार