पृथ्वी राजमार्गको शीतल बजार सडकखण्ड खुलाउन नेपाली सेनाको काम तीव्र

1.1k Shares

धादिङ । बाढी तथा नदी कटानका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतल बजार सडकखण्ड खुलाउन नेपाली सेनाले काम तीव्र बनाएको छ।

बाढीका कारण सडकको ठूलो हिस्सा क्षतिग्रस्त भएपछि उक्त सडकखण्डमा यातायात आवागमन प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनले समस्या झेल्दै आएका छन्।

अवरुद्ध सडकखण्ड खुलाउन नेपाली सेनाले आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरी काम अघि बढाएको छ। सडकमा थुप्रिएको ढुंगा–माटो हटाउने तथा क्षतिग्रस्त भाग व्यवस्थापन गर्ने कामसँगै आवश्यक स्थानमा विस्फोट गराएर सडक खोल्ने प्रयास भइरहेको छ।

राजमार्ग पुनः सञ्चालनमा ल्याउन सेनाको टोलीले जोखिमपूर्ण अवस्थामा समेत निरन्तर काम गरिरहेको छ। सडक खुल्ने भएपछि पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधनलाई सहज हुने अपेक्षा गरिएको छ।

बाढी, पहिरो तथा नदी कटानका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुगेपछि सडक सञ्चालनका लागि सुरक्षा निकाय तथा सम्बन्धित निकायले उद्धार र मर्मत कार्यलाई प्राथमिकता दिँदै आएका छन्।

सम्बन्धित समाचार