हिमालहरू पग्लिरहेका मात्रै छैनन्, अस्थिरसमेत बन्दैछन्

1.2k Shares

काठमाडौं । जलवायु परिवर्तनको असरका कारण नेपालका हिमाली क्षेत्रमा हिमाल तथा हिमनदी पग्लिने क्रम तीव्र हुनुका साथै पहाड र हिमाली संरचना अस्थिर बन्ने जोखिमसमेत बढ्दै गएको छ।

तापक्रम वृद्धिका कारण हिमालमा जमेको हिउँ पग्लिन थालेको र त्यसले हिमाली भू–संरचनालाई कमजोर बनाउँदै लगेको विज्ञहरूले बताएका छन्। हिमालको बाहिरी भागमा मात्रै नभई भित्री संरचनामा समेत तापक्रमको प्रभाव पर्दा हिउँ तथा चट्टान खस्ने र पहिरो जाने जोखिम बढ्ने गरेको छ।

पछिल्लो समय नेपालका हिमाली क्षेत्रमा हिमपहिरो, बाढी, पहिरो तथा हिमताल विस्फोटजस्ता घटना बढ्दै गएका छन्। यस्ता घटनाले हिमाली बस्ती, पर्यटन, सडक, पुल तथा जलविद्युत् आयोजनामा समेत ठूलो जोखिम सिर्जना गरेको छ।

विशेषज्ञहरूका अनुसार हिमतालमा हिउँ तथा चट्टान खस्दा ठूलो परिमाणमा पानी विस्थापित भएर तल्लो तटीय क्षेत्रमा विनाशकारी बाढी आउन सक्छ। नेपालका विभिन्न नदी प्रणालीमा जोखिमयुक्त हिमताल रहेकाले हिमाली क्षेत्रमा हुने कुनै पनि ठूलो भौगोलिक परिवर्तनले तल्लो क्षेत्रमा गम्भीर असर पार्न सक्ने देखिएको छ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा वर्षाको स्वरूपमा समेत परिवर्तन आएको छ। पहिले हिमपात हुने स्थानमा अहिले असामान्य रूपमा भारी वर्षा हुने र त्यसले कमजोर भू–भागमा पहिरो तथा आकस्मिक बाढी निम्त्याउने गरेको विज्ञहरूको भनाइ छ।

विज्ञहरूले हिमाली क्षेत्रमा जोखिमयुक्त बस्तीको व्यवस्थापन, प्रभावकारी पूर्वसूचना प्रणाली, हिमतालको नियमित निगरानी र जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। साथै नेपालले हिमाल संरक्षणको मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउँदै जलवायु परिवर्तनबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय सहयोग र क्षतिपूर्ति माग गर्नुपर्नेमा पनि जोड दिइएको छ।

सम्बन्धित समाचार