काठमाडौं । रसुवाको रसुवागढी क्षेत्रमा आएको भोटेकोशी बाढी निकै तीव्र गतिमा बगेको अध्ययनले देखाएको छ। प्रारम्भिक चरणमा बाढीको गति प्रति घण्टा १८८ किलोमिटरसम्म पुगेको अध्ययनमा उल्लेख छ।
अध्ययनअनुसार रसुवागढीदेखि चितवनको देवघाटसम्मको करिब २०१ किलोमिटर दूरी बाढीले ६ घण्टा ४२ मिनेटमा पार गरेको देखिएको छ। बाढीको तीव्र बहावका कारण नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको थियो।
अध्ययनले बाढीको मुख्य कारणका रूपमा पहिरो र भूकम्पीय तरंगको प्रभावलाई औँल्याएको छ। यी कारणले नदीमा एक्कासि ठूलो मात्रामा पानी तथा माटोको बहाव बढ्दा बाढी तीव्र बनेको जनाइएको छ।
भोटेकोशी हुँदै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा पुगेको बाढीले बाटो, पुल, बस्ती तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुर्याएको थियो।