काठमाडौं । भारतले महिला एसिया कपको उपाधि जितेको छ। आइतबार दुबईमा भएको फाइनलमा श्रीलंकालाई ७२ रनले पराजित गर्दै भारत च्याम्पियन बनेको हो।
भारतले दिएको १८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाको टोली १११ रनमै अलआउट भयो। श्रीलंकाका लागि कप्तान चमारी अथापाथुले ३६, निलाक्षी डी सिल्भाले २२ तथा विष्मी गुनारत्नेले २० रन बनाइन्। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।
भारतका लागि श्री चरणीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिइन्। दीप्ति शर्माले तीन विकेट लिएपछि श्रीलंकाको ब्याटिङ लाइनअप धराशायी भएको थियो।
त्यसअघि टसपछि पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८३ रन बनाएको थियो। भारतको विशाल स्कोरमा शफाली वर्मा र स्मृति मन्धानाले महत्वपूर्ण योगदान गरे। शफालीले ६८ तथा मन्धानाले ५९ रन बनाइन्।
भारतले ब्याटिङमा बनाएको बलियो आधारलाई बलरहरूले पनि प्रभावकारी रूपमा सदुपयोग गरेपछि श्रीलंकामाथि सहज जित निकाल्यो। ७२ रनको फराकिलो जितसँगै भारतले महिला एसिया कपको उपाधि आफ्नो नाममा पारेको हो।