काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि जितेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । प्रतियोगिताको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई पराजित गर्दै उपाधि जितेको नेपाली टोली सोमबार बिहान काठमाडौं आइपुगेको हो ।
स्वदेश फर्किएको टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, उपाध्यक्ष रोशनकुमार सिंहलगायत पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्यस क्रममा क्यानका सचिव खड्काले नेपाली टोलीलाई उपाधिका लागि बधाई दिँदै आगामी प्रतियोगिताका लागि शुभकामना दिए ।
शनिबार सम्पन्न फाइनल खेलमा नेपालले यूएईलाई ४४ रनले पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधि दोस्रोपटक जितेको थियो । यससँगै नेपालले आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने एसिया कपमा समेत स्थान सुरक्षित गरेको छ ।

एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय मञ्चमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपालले उपाधिसँगै एसिया कप खेल्ने अवसरसमेत सुनिश्चित गरेको हो ।
नेपालले दोस्रोपटक एसिया कप खेल्ने भएको हो । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२३ मा पहिलोपटक एसिया कपमा सहभागिता जनाएको थियो ।
प्रिमियर कपको उपाधि र एसिया कपमा छनोटसँगै नेपाली क्रिकेटमा आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उत्साह थपिएको छ । टोलीले अब एसिया कपमा आफ्नो प्रदर्शन सुधार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा थप प्रभाव जमाउने लक्ष्य लिएको छ ।