कार्ययोजनाको प्रभाव : नेप्से ४८ अंकले बढ्यो, कारोबार ८ अर्ब २९ करोड नाघ्यो

1.6k Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ को सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ। लगानीकर्ताको मनोबल बढेसँगै मंगलबार नेप्से परिसूचक उल्लेख्य रूपमा वृद्धि भएको हो।

मंगलबार नेप्से परिसूचक ४८.५७ अंक अर्थात् १.८७ प्रतिशतले बढेर २ हजार ६३३.६२ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ८ अर्ब २९ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

मंगलबार ३४७ कम्पनीका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर ७८ हजार ८६९ पटक कारोबार भएका थिए। बजारमा कारोबार भएका कम्पनीमध्ये २६५ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ।

त्यस्तै, मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। निर्जीवन बीमा उपसमूह सर्वाधिक २.८२ प्रतिशतले बढेको छ। वित्त, लगानी, जीवन बीमा तथा अन्य उपसमूह पनि २ प्रतिशतभन्दा बढीले बढेका छन्। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र लघुवित्त उपसमूहमा समेत १ प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ।

कम्पनीगत रूपमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १४.९६ प्रतिशतले बढेर सर्वाधिक वृद्धि भएको छ। त्यस्तै, सिन्धु विकास बैंकको सेयर मूल्य करिब ११ प्रतिशत र मल्टीपर्पस फाइनान्सको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको करिब ३२ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको बताइएको छ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ३१ करोड ५० लाख रुपैयाँभन्दा बढी र अपि पावर कम्पनीको करिब २८ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

सम्बन्धित समाचार