मुस्ताङमा जलवायु परिवर्तन सम्मेलन, हिमाली समस्या अन्तर्राष्ट्रियस्तरमा उठाउने तयारी

806 Shares

मुस्ताङ । जलवायु परिवर्तनका कारण हिमाली जिल्लाले भोगिरहेका समस्या र असरबारे प्रदेश, संघीय सरकार तथा अन्तर्राष्ट्रियस्तरमा दबाब सिर्जना गर्ने उद्देश्यले मुस्ताङको सदरमुकाम जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ।

हिमालदेखि जनजीवनसम्म जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरण तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजित सम्मेलनको मंगलबार उद्घाटन गरिएको हो। प्रभातफेरीपछि आयोजित कार्यक्रममा २८ फिट उचाइको जलवायु परिवर्तनको असर झल्काउने गोलाकार आकृतिको बेलुन उद्घाटन गरिएको थियो।

सम्मेलनमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाउनुभएको शुभकामना सन्देशसमेत वाचन गरिएको थियो। सन्देशमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

सम्मेलनमा देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधिसहित ४३१ स्थानीय तह र ४१ जिल्ला समन्वय समितिका गरी दुई हजारभन्दा बढी अतिथिको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, प्रदेशसभा सदस्य विकल शेरचनलगायतको उपस्थिति रहेको थियो।

सम्मेलनमा जलवायु परिवर्तनका कारण मुस्ताङमा प्राकृतिक सन्तुलनमा परेको असर, हिमनदी पग्लिएर बनेका हिमतालको आकार तथा अस्थिरता, हिमताल फुटेर आउन सक्ने बाढी, पानीका स्रोतमा देखिएको अस्थिरता, असामान्य वर्षाका कारण हुने बाढीपहिरो र खानेपानी अभावका कारण बढ्दो बसाइँसराइजस्ता विषयमा छलफल हुने जनाइएको छ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार सम्मेलनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीय तहबाट गर्न सकिने काम, आवश्यक नीतिगत पहल तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षणका विषयमा साझा धारणा निर्माण गर्नेछ। सम्मेलनको अन्त्यमा जलवायु परिवर्तनका असरसम्बन्धी घोषणापत्रसमेत जारी गरिने तयारी छ।

सम्मेलनमा मुस्ताङका स्थानीय कृषि उत्पादनको प्रवर्द्धनका लागि विभिन्न स्टल राखिएका छन्। उद्घाटन समारोहमा स्थानीय मौलिक कला, संस्कृति तथा भेषभूषाको प्रदर्शनसँगै परम्परागत जरायो नाचसमेत प्रस्तुत गरिएको थियो।

____________________________________________________________________________________________________________________5_.jpeg____________________________________________________________________________________________________________________6_.jpeg____________________________________________________________________________________________________________________8_.jpeg

सम्बन्धित समाचार