काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध रसुवागढी सडक सञ्चालनमा ल्याउन चीन, भारत र अमेरिकाबाट बेलीब्रिज ल्याउने तयारी गरिएको छ।
भोटेकोशी बाढीका कारण रसुवा–नुवाकोट सडकखण्डका विभिन्न पुल तथा सडक संरचनामा ठूलो क्षति पुगेपछि यातायात सम्पर्क पुनःस्थापित गर्न सरकारले बेलीब्रिजलाई प्राथमिकता दिएको हो। क्षतिग्रस्त पुलहरू स्थायी रूपमा पुनर्निर्माण गर्न समय लाग्ने भएकाले तत्काल सडक सञ्चालनका लागि अस्थायी पुल जडान गर्ने तयारी गरिएको छ।
यसअघि नेपाली सेनासँग उपलब्ध ७० मिटर लामो बेलीब्रिजमध्ये एउटा नुवाकोटको देवीघाटमा जडान गरिसकिएको छ। बाँकी बेलीब्रिज बेत्रावती र स्याफ्रुबेँशी क्षेत्रमा जडान गर्ने तयारी भइरहेको छ।
रसुवाको स्याफ्रुबेँशी तथा अन्य क्षेत्रमा भने आवश्यक पर्ने लामो स्पानका बेलीब्रिज नेपालमा पर्याप्त नभएकाले छिमेकी मुलुकसहित अन्तर्राष्ट्रिय सहयोगबाट पुलका सामग्री जुटाउने प्रक्रिया अघि बढाइएको हो। भारतले यसअघि बाढी प्रभावित क्षेत्रका लागि ७० मिटर लामो बेलीब्रिजका सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ।
सरकारले सडक सम्पर्क तत्काल पुनःस्थापित गरी राहत, उद्धार तथा दैनिक उपभोग्य सामग्रीको ढुवानी सहज बनाउने उद्देश्यले बेलीब्रिज जडानलाई तीव्रता दिएको जनाएको छ। रसुवागढी नाकासम्मको सडक सञ्चालनमा आएपछि स्थानीय बासिन्दाका साथै सीमावर्ती क्षेत्रको आवागमन र आपूर्ति व्यवस्थामा समेत सहजता आउने अपेक्षा गरिएको छ।