कम्पनीले आफ्नै सेयर किन्न पाउने व्यवस्था कार्यान्वयनको तयारी

876 Shares

काठमाडौं । सरकारले पुँजीबजार सुधार कार्ययोजनामार्फत सूचीकृत कम्पनीलाई आफ्नै सेयर खरिद गर्न सक्ने अर्थात् ‘सेयर बाइब्याक’ व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। यसका लागि आगामी माघ मसान्तभित्र आवश्यक नियामकीय, नीतिगत तथा कानुनी पूर्वाधार तयार गर्ने योजना अघि सारिएको छ।

सरकारले सार्वजनिक गरेको पुँजीबजार सुदृढीकरणसम्बन्धी कार्ययोजनामा कम्पनीको सञ्चित मुनाफाबाट आफ्नै सेयर खरिद गर्न सक्ने व्यवस्थालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने उल्लेख छ। हाल कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा रहेका व्यवस्थालाई आधार बनाएर बाइब्याकसम्बन्धी आवश्यक प्रक्रिया स्पष्ट पार्ने तयारी गरिएको हो।

सेयर बाइब्याक भन्नाले कुनै कम्पनीले बजारमा आफ्नै कम्पनीका सेयरधनीबाट सेयर फिर्ता खरिद गर्नु हो। कम्पनीले बाइब्याक गरेपछि बजारमा कारोबारका लागि उपलब्ध सेयरको संख्या घट्न सक्छ। त्यसैले यसको उद्देश्य र कार्यान्वयन विधिअनुसार यसले सेयरको आपूर्ति, कम्पनीको पुँजी संरचना तथा सेयरधनीको हिस्सामा प्रभाव पार्न सक्छ।

सरकारको कार्ययोजनामा बाइब्याकसँगै मार्जिन लेन्डिङ, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा उधारो र सर्ट सेलिङलगायतका उपकरण सञ्चालनका लागि धितोपत्रसम्बन्धी कानुन तथा बजार पूर्वाधारमा सुधार गर्ने विषय पनि समेटिएको छ।

त्यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना, नयाँ आधारभूत सूचकांक निर्माण, संस्थागत लगानीकर्ताको सहभागिता बढाउने तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने विषयलाई पनि सरकारले कार्ययोजनामा प्राथमिकतामा राखेको छ।

सरकारले बाइब्याकलाई मात्रै नभई समग्र पुँजीबजारको नियामकीय तथा पूर्वाधारगत सुधारलाई अघि बढाउने योजना बनाएको देखिन्छ। कम्पनीले आफ्नै सेयर खरिद गर्न पाउने व्यवस्था कार्यान्वयनमा आएपछि भने बाइब्याकको मूल्य, मात्रा, समय, स्वीकृति प्रक्रिया र सेयर रद्द वा व्यवस्थापन गर्ने तरिकाजस्ता विषय नियामकीय व्यवस्थाले निर्धारण गर्नेछन्।

यसका लागि अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डसहित सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक नियम, निर्देशिका तथा अन्य पूर्वाधार तयार गर्ने समयसीमा आगामी माघ मसान्त तोकेको छ।

सम्बन्धित समाचार