बैंकमा थुप्रियो अधिक तरलता, राष्ट्र बैंकले ३० अर्ब प्रशोचन गर्दै

1.2k Shares

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २८ दिनका लागि बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम तान्न लागेको हो।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गए पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसक्दा अधिक तरलताको अवस्था सिर्जना भएको छ। यही अवस्थालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ।

राष्ट्र बैंकका अनुसार २३ भदौसम्म बैंक तथा वित्तीय संस्थाहरूले ८३ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ६० खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१ दशमलव ४८ प्रतिशत कायम भएको छ। यस आधारमा बैंकिङ प्रणालीमा १३ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको देखिन्छ।

तर, लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जाको माग कमजोर हुँदा बैंकहरूमा पैसा थुप्रिएको छ। यसले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनको चुनौती बढाएको छ।

यही परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत प्रशोचन गर्न लागेको हो। यसबाट बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता केही समयका लागि केन्द्रीय बैंकमा रहनेछ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन बोलकबोलमा सहभागी हुन अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीको तरलता अवस्थाअनुसार आगामी दिनमा पनि यस्ता उपकरण प्रयोग गरेर तरलता व्यवस्थापन गर्न सक्नेछ।

सम्बन्धित समाचार