काठमाडौँ । जापानमा आयोजना भइरहेको २०औँ एसियाली खेलकुद (एसियन गेम्स) को औपचारिक उद्घाटन समारोह शनिबार सुरु भएको छ । स्थानीय समयअनुसार साँझ ६ बजे नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा उद्घाटन समारोह आयोजना गरिएको हो।
औपचारिक उद्घाटनअघि नै एसियन गेम्सअन्तर्गत केही खेलका प्रतिस्पर्धा सुरु भइसकेका छन् । जापानले तेस्रोपटक एसियाली खेलकुद आयोजना गरेको हो । यसअघि जापानले सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोसिमामा एसियन गेम्स आयोजना गरेको थियो ।
यसपटक एसियन गेम्सका प्रतियोगिता ५४ वटा खेलस्थलमा सञ्चालन भइरहेका छन् । मुख्य आयोजक क्षेत्र आइची प्रिफेक्चरका विभिन्न सहरसँगै गिफु, शिजुओका, टोकियो र ओसाकामा समेत विभिन्न खेलका प्रतिस्पर्धा आयोजना भइरहेका छन् ।
नेपालले पनि एसियाली खेलकुदमा विभिन्न २१ खेलमा सहभागिता जनाएको छ । नेपालबाट कुल १३५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । सहभागी खेलाडीमध्ये ५७ जना महिला र ७८ जना पुरुष छन् । नेपाली टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक र दुई खेल प्राविधिकसमेत सहभागी छन् ।
नेपालले आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइक्लिङ, गल्फ, जुडो, कबड्डी, कराते, र्याफ्टिङ तथा क्यानोइङ, स्केट तथा स्केट बोर्डिङ, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, भलिबल, कुस्ती र उसुमा प्रतिस्पर्धा गर्नेछ ।
एसियन गेम्स एसियाली मुलुकका खेलाडीका लागि महत्त्वपूर्ण बहुराष्ट्रिय खेलकुद प्रतियोगिता हो । यस संस्करणमा पनि विभिन्न खेलका शीर्ष खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले विभिन्न खेलमार्फत अन्तर्राष्ट्रिय अनुभव र पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।
उद्घाटन समारोहसँगै एसियन गेम्सको मुख्य प्रतिस्पर्धात्मक चरण औपचारिक रूपमा अघि बढेको छ । प्रतियोगिताका विभिन्न खेल जापानका विभिन्न सहर तथा खेलस्थलमा सञ्चालन भइरहेका छन् ।
