काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना र भविष्य पनि पुनर्स्थापित गर्नुपर्ने बताएका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले देश अहिले बाढी तथा प्राकृतिक विपत्तिको गहिरो पीडामा रहेको बताएका हुन्।
उनले विपत्तिमा परी धेरै नेपालीले आफ्ना प्रियजन, घर तथा जीवनयापनको आधार गुमाएको उल्लेख गर्दै दिवंगतप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको खोज र पहिचानको कामना गरे।
राष्ट्रपति पौडेलले संविधान दिवस उत्सव मनाउने दिन मात्र नभई आत्मसमीक्षा गर्ने अवसरसमेत भएको बताए। उनका अनुसार पछिल्लो विपत्तिले विकासको अवधारणालाई अझ व्यापक ढंगले बुझ्नुपर्ने सन्देश दिएको छ।
‘विकास केवल सडक, पुल र भवन होइन, मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो,’ उनले भनेका छन्।
उनले पुनर्निर्माणको क्रममा भौतिक संरचना निर्माणमा मात्रै केन्द्रित नभई विस्थापित परिवारको जीवन, जीविका र भविष्यलाई समेत पुनःस्थापित गर्नुपर्नेमा जोड दिए।
‘यसर्थ पुनर्निर्माण गर्दा हामीले भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनुपर्छ,’ राष्ट्रपति पौडेलले भने।
पौडेलले संविधानमा अन्तर्निहित लोकतान्त्रिक राज्यप्रणाली जनताको सर्वोपरि हितमा केन्द्रित रहेको विषयलाई राज्यले सधैँ स्मरण गर्नुपर्ने बताए।
उनले जलवायु परिवर्तनका चुनौती बढिरहेका बेला नेपालको विकासको ढाँचा अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याए।
यसअघि पनि राष्ट्रपति पौडेलले विपत्तिपीडित नागरिकलाई राज्यको सहयोग र भरोसा आवश्यक रहेको बताएका थिए। भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि उनले खोज, उद्धार, राहत, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
भोटेकोशी–त्रिशूली बाढीबाट हजारौँ निजी घरमा क्षति पुगेको छ। सरकारले विस्थापित परिवारको वास्तविक आवश्यकता पहिचान गरी अस्थायी आवास निर्माण तथा दीर्घकालीन पुनःस्थापनाको प्रक्रिया अघि बढाइरहेको छ।
राष्ट्रपतिको भनाइले पुनर्निर्माणलाई केवल भौतिक पूर्वाधार निर्माणको विषय नभई प्रभावित नागरिकको जीवन र भविष्य पुनःस्थापित गर्ने प्रक्रियाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ।