प्रदीप ज्ञवालीको प्रतिवेदनमाथि एमालेभित्रै असन्तुष्टि, ‘आत्मा छैन, अक्षरको थुप्रो मात्रै’

932 Shares

काठमाडौं । नेकपा एमालेको चुनावी समीक्षा गर्न नेता प्रदीप ज्ञवालीले तयार पारेको प्रतिवेदनलाई लिएर पार्टीभित्रै असन्तुष्टि देखिएको छ। प्रतिवेदनले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयका कारणहरू विश्लेषण गरे पनि त्यसको ठूलो हिस्सा अध्यक्ष केपी शर्मा ओलीको बचाउ र विगतका उपलब्धिको व्याख्यामा केन्द्रित रहेको भन्दै आलोचना भएको हो। 

ज्ञवालीको प्रतिवेदनमा निर्वाचन परिणाममा बाह्य तथा आन्तरिक कारणको प्रभाव रहेको उल्लेख गरिएको छ। भदौ २३ र २४ का घटनाक्रम, सामाजिक सञ्जाल तथा डिजिटल एलगोरिदमको प्रभाव, पार्टीभित्रको अन्तर्घात, सांगठनिक कमजोरी, टिकट वितरणमा भएका त्रुटि तथा नेता–कार्यकर्ताबीचको सम्बन्धमा आएको दूरीलाई पराजयका कारणका रूपमा औँल्याइएको छ। 

प्रतिवेदनले अध्यक्ष ओलीको नेतृत्वमा भएका संविधान जारी गर्दाको अडान, नाकाबन्दीको सामना तथा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताजस्ता विषयलाई समेत उल्लेख गरेको छ। साथै, आगामी दिनमा पार्टीलाई सुदृढ बनाउन ३९ बुँदे कार्ययोजना प्रस्ताव गरिएको छ।

तर प्रतिवेदनको भाषा, संरचना र ओलीको बचाउमा गरिएको जोडलाई लिएर एमालेका केही नेताहरूले प्रश्न उठाएका छन्। यसअघि महासचिव शंकर पोखरेल र नेता रामबहादुर थापा ‘बादल’ले तयार पारेका प्रतिवेदन पनि विवादमा परेका थिए। त्यसपछि ओलीले ज्ञवालीलाई नयाँ समीक्षा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएका थिए। 

यसैबीच प्रतिवेदनमाथि थप छलफलका लागि एमाले कार्यदलको बैठक बोलाइएको छ। पार्टीभित्र चुनावी पराजयको वास्तविक कारण, संगठन पुनर्गठन र नेतृत्वसँग सम्बन्धित विषयमा फरक–फरक धारणा देखिँदै आएका छन्।

 
सम्बन्धित समाचार