जाडोयाममा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
897
Shares
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जाडोयाममा विद्युत् आपूर्ति सहज बनाउन सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोसीमा आएको बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि करिब १० प्रतिशत विद्युत् प्रणाली बाहिर गएको बताए । त्यसका कारण राष्ट्रिय प्रसारण लाइनमा चाप परेको भए पनि नेपाल विद्युत् प्राधिकरणले प्रणालीलाई सन्तुलनमा राखेर काम गरिरहेको उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले आगामी जाडोयाममा विद्युत्को माग बढ्ने भएकाले अहिले नै आपूर्ति व्यवस्थापनका लागि प्राविधिक तयारी भइरहेको जानकारी दिए ।
‘अब जोडिने प्रसारण लाइन कस्तो छ, अरू ठाउँमा पनि सम्भावित जोखिम के–कस्तो छ र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको छ,’ उनले भने, ‘जाडो महिनामा पनि अहिले जस्तै विद्युत् आपूर्तिलाई सन्तुलित राख्न हामीले गृहकार्य गरिरहेका छौँ ।’
प्रसारण लाइनमा केही विद्युत् जोडिन बाँकी रहेकाले त्यसबाट असहजता उत्पन्न हुन सक्ने विषयमा पनि तयारी भइरहेको उनले बताए । उनका अनुसार जाडोयाममा विशेषगरी दुई महिनामा विद्युत्को माग उच्च हुने भएकाले सोहीअनुसार व्यवस्थापनको योजना बनाइँदैछ ।
‘जाडो महिनामा माग धेरै हुँदो रहेछ । खासगरी दुई महिनामा त्यो हुन्छ । त्यसको वर्कआउट भइरहेको छ,’ मन्त्री श्रेष्ठले भने । उनले बाढीबाट प्रभावित नुवाकोटमा २४ घण्टाभित्रै विद्युत् सेवा पुनः सञ्चालन गरिएको र रसुवामा पनि हालै विद्युतीकरण गरिएको जानकारी दिए ।
आगामी सुख्खायाममा विद्युत् आपूर्ति कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा समेत प्राविधिक तहबाट तयारी भइरहेको मन्त्री श्रेष्ठले बताए । पछिल्लो समय बाढी तथा पहिरोका कारण विद्युत् उत्पादन र प्रसारण पूर्वाधारमा क्षति पुगेकाले आगामी समयका सम्भावित जोखिम पहिचान गरी प्रणालीलाई थप व्यवस्थित बनाउने तयारी भइरहेको उनको भनाइ छ।