कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना

631 Shares

काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम बदली रहने तथा केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भूभाग, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा साधारणतया बदली रहनेछ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहने पूर्वानुमान छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै, मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ ।

भारी वर्षाको समेत सम्भावना

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । वर्षा र मेघगर्जन हुने स्थानमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसहित देशका तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित समाचार