काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ। सरकारले यसअघि कोषमा जम्मा भएको रकममध्ये एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको जनाएको छ।
कार्यालयका अनुसार विभिन्न नौ वटा वाणिज्य बैंकमा रहेको खातामा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा भएको छ। त्यसैगरी हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट भएको मानवीय र भौतिक क्षतिपछि सरकार तथा विभिन्न संघसंस्था, निजी क्षेत्र र सर्वसाधारणबाट राहत कोषमा सहयोग जम्मा हुँदै आएको छ। सरकारले कोषमा जम्मा भएको रकम बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि परिचालन गर्दै आएको जनाएको छ।