काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को डाटा हबमा प्राविधिक समस्या देखिएपछि आजको सेयर कारोबार प्रभावित हुने सम्भावना देखिएको छ। प्राविधिक समस्या समाधान नभए नेप्सेको नियमित कारोबार रोक्नुपर्ने अवस्था आउन सक्ने जनाइएको छ।
नेप्से स्रोतका अनुसार डाटा हबमा सोमबारदेखि ‘र्यान्समवेयर आक्रमण’ भएको आशंका गरिएको छ। त्यसका कारण ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा समस्या देखिएको र अधिकांश ब्रोकरको कारोबार प्रणाली चलाउन नसकिएको बताइएको छ।
नेप्सेसँग आबद्ध ७२ वटा ब्रोकरले प्रयोग गर्ने टीएमएस प्रभावित भएको स्रोतको भनाइ छ। टीएमएस सञ्चालनमा आउन नसके ती ब्रोकरमार्फत लगानीकर्ताले सेयर कारोबार गर्न सक्ने अवस्था रहने छैन।
यद्यपि, आफ्नै टीएमएस सञ्चालन गरिरहेका १२ वटा ब्रोकर भने कारोबार सञ्चालन गर्न सक्ने अवस्थामा रहेको बताइएको छ। तर अधिकांश ब्रोकरको प्रणाली प्रभावित भएकाले बजार सञ्चालन गर्दा उत्पन्न हुन सक्ने प्राविधिक तथा व्यवस्थापकीय समस्यालाई ध्यानमा राख्दै नेप्सेले आजको कारोबार रोक्ने विषयमा तयारी गरिरहेको स्रोतको भनाइ छ।
डाटा हबमा नेप्सेको प्रणालीसँगै अन्य सरकारी निकायका तथ्यांक तथा अभिलेखसमेत रहेको बताइएको छ। स्रोतका अनुसार त्यहाँ नेप्सेबाहेक करिब १७–१८ वटा सरकारी निकायका रेकर्ड समेत रहेको छ।
सरकारी डिजिटल पूर्वाधारमा साइबर सुरक्षाको विषय संवेदनशील बन्दै गएको अवस्थामा यस्तो समस्या देखिएपछि सम्बन्धित निकायले प्राविधिक अवस्थाको परीक्षण र सुरक्षा व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिएको छ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले समेत र्यान्समवेयर आक्रमणबाट सुरक्षित रहन साइबर सुरक्षा एडभाइजरी जारी गरेको छ।
तर, नेप्सेको कारोबार औपचारिक रूपमा बन्द गर्ने वा सञ्चालन गर्नेबारे अन्तिम निर्णय नेप्से तथा सम्बन्धित निकायबाट आधिकारिक रूपमा सार्वजनिक हुन बाँकी रहेको अवस्थामा अहिलेको अवस्था सम्भावित अवरोधका रूपमा मात्र लिनुपर्ने हुन्छ।