बसमा आगो लगाउने दावा ९० प्रतिशतभन्दा बढी जले, अवस्था गम्भीर

827 Shares

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा घाइते भएका चालक दावा लामाको अवस्था गम्भीर रहेको छ। चिकित्सकका अनुसार उनको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको छ।

रिद्धिसिद्धि यातायातको बा.५ख ४२७४ नम्बरको बसमा सोमबार त्रिपुरेश्वर चोकमा आगलागी भएको थियो। घटनाका बेला बसमा यात्रु भने थिएनन्। चालक लामा बसभित्रै रहेका अवस्थामा आगलागी भएपछि उनलाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित जलन अस्पताल लगिएको थियो।

नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरका चिकित्सकका अनुसार लामाको शरीरमा ९० प्रतिशतभन्दा बढी जलन भएको छ। उनको अवस्था अत्यन्त गम्भीर रहेको र हाल बोल्न सक्ने अवस्थामा समेत नरहेको चिकित्सकले बताएका छन्।

प्रारम्भिक विवरणअनुसार ट्राफिक प्रहरीसँग भएको भनाभनपछि विवाद उत्पन्न भएको र त्यसक्रममा बसमा आगो लागेको बताइएको छ। प्रहरीले भने घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

बसमा चालक आफैं रहेको अवस्थामा आगलागी भएकाले घटनालाई प्रहरीले शंकास्पद रूपमा लिएर अनुसन्धान अघि बढाएको छ। आगलागीको वास्तविक कारण तथा घटनाको परिस्थितिबारे थप अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार