कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने
799
Shares
काठमाडौं । देशका हिमाली तथा पहाडी भू–भागमा आज दिउँसो सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ । तराई क्षेत्रमा भने आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ ।
तराईतर्फ कोशी र बागमती प्रदेशका थोरै स्थान तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
राति पनि वर्षाको सम्भावना
रातिको समयमा कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
त्यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
राति कोशी र बागमती प्रदेशका पहाडी भू–भाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । महाशाखाले वर्षा, मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।