धनगढी । बाजुराका हिमाली क्षेत्रमा यस वर्ष स्याउ उत्पादन बढेपछि किसान उत्साहित छन् । बारीभरि स्याउ लटरम्म फले पनि उत्पादनलाई बजारसम्म पुर्याउन नसक्दा किसान भने चिन्तित बनेका छन् ।
बुढीनन्दा नगरपालिका–१० लगायत हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका किसान यतिबेला स्याउ टिपेर बिक्री गर्ने तयारीमा छन् । उत्पादन राम्रो भएकाले यस वर्ष आम्दानी बढ्ने उनीहरूको अपेक्षा छ ।
बुढीनन्दा–१० का नैन बोहराले तीन चरणमा गरी ६ हजारभन्दा बढी स्याउका बिरुवा रोपेका छन् । उनका चारै भाइ व्यावसायिक स्याउ खेतीमा सक्रिय छन् । यस क्षेत्रमा मात्रै ४० भन्दा बढी परिवार स्याउ खेतीमा संलग्न रहेको किसानहरू बताउँछन् ।
पाण्डुसैनका शेरबहादुर रावतले ८ हजार स्याउका बिरुवा रोपेका छन् । तीमध्ये दुई हजारभन्दा बढी बोटले उत्पादन दिन थालेका छन् । केही बोटमा एक क्विन्टलभन्दा बढी स्याउ फलेको र उत्पादनको भारले कतिपय रूखका हाँगा भाँचिएको उनले बताए ।
तर उत्पादन बढे पनि उचित मूल्य र बजारको समस्या भने कायमै छ । किसानले बारीबाटै प्रतिकिलो करिब १०० रुपैयाँसम्ममा स्याउ बिक्री गरिरहेको अवस्थामा बजारमा भने यसको मूल्य ३०० रुपैयाँसम्म पुग्ने गरेको बताइएको छ ।
गत वर्ष बारीबाट प्रतिकिलो करिब ३० रुपैयाँमा स्याउ बिक्री गरेका किसानले यस वर्ष कम्तीमा ५० रुपैयाँ पाउने अपेक्षा गरेका छन् । व्यापारीले उचित मूल्य नदिए आफैं बजारमा लगेर बिक्री गर्ने किसानहरूको योजना छ ।
बाजुरामा गोल्डेन, डेलिसिएस, गाला, फुजी तथा स्थानीय जातका स्याउ उत्पादन हुँदै आएका छन् । स्याउबाट आम्दानी हुन थालेपछि किसानले परम्परागत अन्नबाली लगाउँदै आएको जमिनसमेत स्याउ खेतीमा प्रयोग गर्न थालेका छन् ।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा करिब १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । गत वर्ष दुई हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएकोमा करिब ६०० मेट्रिक टन जिल्ला बाहिर बिक्री भएको थियो । यस वर्ष उत्पादन बढेर ७०० मेट्रिक टनभन्दा बढी स्याउ जिल्ला बाहिर जाने अनुमान गरिएको छ ।
तर बुढीनन्दाको पाण्डुसैनबाट मार्तडी हुँदै धनगढीलगायत बजारमा स्याउ पुर्याउन कोल्टी–मार्तडी सडकको खराब अवस्थाले ठूलो समस्या सिर्जना गरेको छ । समयमा बजार पुर्याउन नसक्दा स्याउ बारीमै झर्ने र बिक्री नभएर नोक्सान हुने जोखिम रहेको किसानहरूको गुनासो छ ।
यसअघि पनि बजारसम्म समयमा पुर्याउन नसक्दा स्याउ बिक्री नभएर गाईबस्तुलाई खुवाउनुपरेको किसानहरूको अनुभव छ । त्यसैले उत्पादनसँगै सडक, ढुवानी र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने उनीहरूको माग छ ।
बुढीनन्दा नगरपालिकाले भने किसानसँग समन्वय गरी नजिकका बजारसम्म स्याउ पुर्याउने विकल्पबारे छलफल गरिरहेको जनाएको छ । कृषि एम्बुलेन्समार्फत ढुवानीमा सहयोग गर्ने तयारीसमेत भइरहेको बताइएको छ