त्रिपुरेश्वर घटनामा ज्यान गुमाउने चालक अर्जुन डोङ तामाङ भएको पुष्टि

988 Shares

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार भएको बस आगजनी घटनामा ज्यान गुमाएका चालकको पहिचान अर्जुन डोङ तामाङका रूपमा खुलेको छ।

घटनापछि प्रहरीले मृतकको साथबाट भेटिएको सवारी चालक अनुमतिपत्रका आधारमा उनी दावा लामा भएको प्रारम्भिक जानकारी दिएको थियो। तर, उक्त लाइसेन्स आफ्नै भएको भन्दै दावा लामा नामका व्यक्ति सम्पर्कमा आएपछि मृतकको पहिचानबारे अन्योल उत्पन्न भएको थियो।

प्रहरीको अनुसन्धानबाट मृतकले अर्कै व्यक्तिको लाइसेन्स प्रयोग गरेर सवारी चलाउँदै आएको खुलेपछि उनको वास्तविक पहिचान अर्जुन डोङ तामाङ भएको पुष्टि भएको हो। प्रहरीले घटनासँगै मृतकको पहिचान र लाइसेन्स प्रयोगको विषयलाई समेत अनुसन्धानको दायरामा राखेको थियो।

त्रिपुरेश्वरमा सोमबार भएको घटनामा बा २ ख ४२७४ नम्बरको बसमा आगजनी भएको थियो। आगलागीमा चालक गम्भीर रूपमा घाइते भएका थिए। उद्धारपछि उनको शरीरको ठूलो भाग जलेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो। पछि उनको मृत्यु भएको हो।

घटनापछि चालकको पहिचानलाई लिएर देखिएको अन्योल हटाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। प्रारम्भमा लाइसेन्समा उल्लेखित विवरणलाई आधार मानेर पहिचान सार्वजनिक गरिए पनि लाइसेन्सधारी व्यक्ति सकुशल रहेको खुलेपछि वास्तविक पहिचान पत्ता लगाउने प्रक्रिया अघि बढाइएको थियो।

प्रहरीले घटनाको समग्र पक्ष, चालकले अर्कै व्यक्तिको लाइसेन्स प्रयोग गरेको विषय तथा आगजनीको परिस्थितिबारे अनुसन्धान जारी राखेको जनाएको छ।

सम्बन्धित समाचार