न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र जयशंकरबीच भेटवार्ता, नेपाल–भारत सम्बन्धबारे छलफल

2.9k Shares

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच अमेरिकाको न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा बुधबार न्युयोर्कमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको हो।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीबाट उत्पन्न कठिन परिस्थितिमा भारत सरकार तथा भारतीय जनताले देखाएको ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गरे। उनले बाढीपछि भारतले तत्काल उपलब्ध गराएको उद्धार तथा राहत सहयोगका लागि पनि भारतीय विदेशमन्त्री जयशंकरमार्फत भारत सरकारप्रति आभार व्यक्त गरे।

वार्तामा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध, द्विपक्षीय हितका विषय तथा दुई देशबीच भएका विभिन्न सम्झौता र समझदारीको प्रगतिबारे विचारविमर्श भएको थियो।

दुवै मन्त्रीले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ, मैत्रीपूर्ण र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहकार्यलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा जोड दिएका थिए।

भेटवार्ता संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा भएको हो। महासभामा सहभागी क्रममा नेपालले विभिन्न मुलुकका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता तथा आपसी हितका विषयमा छलफल गर्दै आएको छ।

सम्बन्धित समाचार