काठमाडौँ । अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले श्रीलङ्कालाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा ८९ रनले पराजित गरेको छ। जितसँगै इङ्ल्यान्डले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ।
चेस्टर–ले–स्ट्रिटमा टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले सुस्त तथा कम बाउन्स भएको पिचमा ४८.१ ओभरमा सबै विकेट गुमाएर २६५ रन बनाएको थियो।
इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ६७ रन बनाए। जो रुटले ४४ रनको योगदान दिए भने तल्लो क्रममा आएका विल ज्याक्सले अविजित ४६ रन बनाएर टोलीलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याए। श्रीलङ्काका रंधिका कोलोम्बागेले तीन विकेट लिए।
२६६ रनको लक्ष्य पछ्याएको श्रीलङ्काको ब्याटिङ भने इङ्ल्यान्डका बलरसमक्ष टिक्न सकेन। अनुशासित बलिङ र चुस्त फिल्डिङ गरेको इङ्ल्यान्डविरुद्ध श्रीलङ्काको टोली ३७ ओभरमा १७६ रनमै अलआउट भयो।
श्रीलङ्काका दुनिथ वेल्लालागेले सर्वाधिक ४५ रन बनाए। अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा श्रीलङ्का लक्ष्यभन्दा निकै पछाडि रह्यो।
इङ्ल्यान्डको जितमा विल ज्याक्स नायक बने। उनले घातक स्पिन बलिङ गर्दै २२ रन खर्चिएर पाँच विकेट लिए। यो उनको ओडीआई करियरकै उत्कृष्ट बलिङ प्रदर्शन हो। ज्याक्सले श्रीलङ्काका कुसल मेन्डिस र कप्तान चरिथ असलंका लगायतका महत्त्वपूर्ण ब्याटरलाई आउट गरे।
ज्याक्सले ब्याटिङतर्फ पनि ४६ रन बनाएपछि उनको अलराउन्ड प्रदर्शन इङ्ल्यान्डको जितमा निर्णायक बन्यो।
यो जितसँगै इङ्ल्यान्डले यस वर्ष श्रीलङ्काविरुद्ध ह्वाइट बल क्रिकेटमा लगातार १०औँ जित दर्ता गरेको छ। तीन खेलको शृङ्खलाको दोस्रो ओडीआई बिहीबार हेडिङ्ग्लेमा हुनेछ।