काठमाडौँ । भारत र जापानबीचको पाँच ओभरमा सीमित गरिएको टी–२० अन्तर्राष्ट्रिय खेलमा अम्पायरले वाइडको निर्णय उल्टाएपछि भारत २ रनले विजयी भएको छ। निर्णायक समयमा वाइडको निर्णय परिवर्तन भएपछि खेलको नतिजालाई लिएर बहससमेत सुरु भएको छ।
वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा जापानलाई जितका लागि अन्तिम चार बलमा ६ रन आवश्यक थियो। भारतका अक्षर पटेल बलिङमा थिए। जापानका एलेक्जेन्डर शिराइ–पाटमोरले रिभर्स हिट खेल्ने प्रयास गरे।
लेग साइडतर्फ टर्न भएर गएको बलमा ब्याट नलागेपछि स्ट्राइकरतर्फका अम्पायर क्रिस थर्गेटले वाइडको संकेत दिए। त्यसपछि भारतीय खेलाडीले निर्णयप्रति असन्तुष्टि जनाए। अक्षर पटेल र विकेटकिपर सञ्जु सामसनले अम्पायरसँग कुरा गरे भने भारतीय कप्तान श्रेयस अय्यर पनि लेग अम्पायर क्रिस ब्राउनसँग छलफल गर्न पुगे।
दुवै अम्पायरबीच छलफल भएपछि थर्गेटले आफ्नो वाइडको निर्णय सच्याए। निर्णय परिवर्तन भएसँगै जापानलाई चार बलमा ६ रनको सट्टा तीन बलमा ७ रन आवश्यक भयो।
बाँकी तीन बलमा जापानले आवश्यक ७ रन बनाउन सकेन र भारत २ रनले विजयी भयो।
क्रिकेटको नियम २.१२ अनुसार अम्पायरले अर्को बल खेलमा आउनुअघि आफ्नो निर्णय सच्याउन सक्छन्। त्यसैले अम्पायरले वाइडको निर्णय उल्टाउनु नियमविपरीत भने होइन।
तर यस घटनामा मुख्य विवाद रिभर्स हिट खेल्ने प्रयास गरिएको बललाई वाइड मान्ने वा नमान्ने विषयमा देखिएको छ। आईसीसीको वाइडसम्बन्धी दिशानिर्देशनअनुसार ब्याटरले रिभर्स हिट वा स्विच हिटको प्रयास गरेपछि बलको वाइड निर्धारण गर्दा विकेटको दुवै पक्षलाई अफसाइडका रूपमा लिइन्छ।
त्यस्तो अवस्थामा बल बाहिरी स्टम्पबाट निर्धारित सीमाभन्दा बाहिर गएमा मात्र वाइड दिन सकिने व्यवस्था छ। खेलमा टेलिभिजन अम्पायर र डीआरएसको व्यवस्था नभएकाले मैदानमा रहेका अम्पायरबीचको छलफलबाटै निर्णय सच्याइएको थियो।
यसअघि भारतले पहिले ब्याटिङ गर्दै पाँच ओभरमा चार विकेट गुमाएर ३२ रन बनाएको थियो। जवाफमा जापानले निर्धारित पाँच ओभरमा ३० रन मात्र बनाउन सक्यो।
जापानलाई अन्तिम समयमा आवश्यक रन बनाउनबाट रोक्दै भारतले २ रनको जित निकालेको हो। यो जितसँगै भारतले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम योगफल बचाएर जित हासिल गरेको कीर्तिमानसमेत बनाएको छ।
खेलको अन्तिम क्षणमा बदलिएको अम्पायरको निर्णय नै भारतको जितको निर्णायक मोड बनेपछि उक्त निर्णयको नियमगत व्याख्यालाई लिएर क्रिकेट वृत्तमा चर्चा भएको छ।