न्यूनचापीय क्षेत्र शक्तिशाली बन्दै, शुक्रबारदेखि यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

827 Shares

काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै गएसँगै नेपालमा शुक्रबारदेखि भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न भागमा वर्षाको गतिविधि बढ्नेछ। 

महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, मधेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका केही स्थानमा समेत भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। 

मौसमविद्का अनुसार न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने क्रममा थप शक्तिशाली बन्ने सम्भावना छ। यसको प्रभावका कारण आजैदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि क्रमशः बढ्दै जानेछ। 

सम्भावित भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। विशेषगरी यसअघि बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा थप सावधानी अपनाउनुपर्ने देखिएको छ।

 
सम्बन्धित समाचार