बाढीबाट जलविद्युत् क्षेत्रमा ३ खर्ब ९० अर्ब रुपैयाँको पुनर्निर्माण आवश्यकता, ८ सयभन्दा बढी बेपत्ता

1k Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बाढी तथा पहिरोबाट जलविद्युत् तथा ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी संसद्मा गराएका छन्।

मन्त्री श्रेष्ठका अनुसार बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना तथा ऊर्जा संरचनाको पुनर्निर्माण र पुनःस्थापनाका लागि करिब ३ खर्ब ९० अर्ब ६२ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक मूल्यांकनअनुसार जलविद्युत् क्षेत्रमा मात्रै करिब १ खर्ब ५१ अर्ब ४४ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। 

बाढीका कारण रसुवालगायतका जिल्लामा रहेका विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन, सबस्टेसन तथा अन्य ऊर्जा संरचनामा गम्भीर क्षति पुगेको छ। प्रारम्भिक विवरणमा १३ वटा साना तथा ठूला जलविद्युत् आयोजनामा ठूलो क्षति भएको उल्लेख छ। 

बाढी प्रभावित जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्याका कर्मचारी तथा कामदारसमेत सम्पर्कविहीन भएका छन्। यसअघि नेपाल विद्युत् प्राधिकरणको विवरणमा मात्रै विभिन्न आयोजनाका सयौँ कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको उल्लेख गरिएको थियो। 

विशेषगरी अपर त्रिशूली–३ ‘ए’, अपर त्रिशूली–३ ‘बी’, रसुवागढी, चिलिमे, त्रिशूली तथा अन्य जलविद्युत् आयोजनामा बाढीले ठूलो असर पुर्‍याएको छ। केही आयोजनाका भूमिगत संरचना तथा सुरुङमा मानिस फसेको आशंकामा खोज तथा उद्धार कार्यसमेत सञ्चालन गरिएको थियो।

बाढीले जलविद्युत् उत्पादनसँगै प्रसारण तथा वितरण प्रणालीमा समेत असर पारेको छ। रसुवामा रहेका महत्वपूर्ण विद्युत् संरचना क्षतिग्रस्त भएपछि केही क्षेत्रको विद्युत् उत्पादन र प्रसारण अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको थियो।

सम्बन्धित समाचार