देशभरका साना नदीमा आकस्मिक बाढीको सम्भावना, मौसम महाशाखाको चेतावनी

1.1k Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षासँगै आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाले तीन दिनको मौसम तथा बाढीको सम्भावित अवस्थाबारे विशेष बुलेटिन जारी गर्दै वर्षाका कारण नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो।

आज यी जिल्लामा मध्यम बाढीको जोखिम

महाशाखाका अनुसार बुधबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर र खोटाङ लगायतका जिल्लामा वर्षा हुने सम्भावना छ। वर्षाका कारण ती क्षेत्रका नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै दोलखा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, कास्की, लमजुङ, चितवन र नवलपरासी पूर्व तथा आसपासका जिल्लाबाट बहने साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

बिहीबार पनि नदीको बहाव बढ्न सक्ने

महाशाखाका अनुसार बिहीबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश भएर बहने केही साना नदी तथा खोलामा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ।

वर्षा हुने क्षेत्रका नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले नदी आसपासका बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

पर्सि सातै प्रदेशमा जोखिम

शुक्रबार भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने साना नदी तथा खोलामा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ।

वर्षाको मात्रा र स्थानीय भौगोलिक अवस्थाअनुसार साना नदी, खोला तथा खहरेमा अचानक बाढी आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विशेषगरी नदी किनार, तटीय क्षेत्र र बाढी तथा डुबानको जोखिम भएका स्थानमा रहेका नागरिकलाई मौसम तथा बाढीसम्बन्धी नियमित सूचना हेर्न विभागले सुझाव दिएको छ।

सम्बन्धित समाचार