काठमाडौं । सरकारले दैनिक उपभोग्य अत्यावश्यक वस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यले वर्षैभरि सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (एफएमटीसी) ले देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालन गर्दै आएको हो ।
एफएमटीसीका अनुसार देशका ४४ जिल्लामा १९३ वटा सहुलियत बिक्री केन्द्र सञ्चालनमा छन् । यसअघि दशैं–तिहारजस्ता चाडपर्वको समयमा मात्रै सञ्चालन हुने सहुलियत पसललाई यस वर्षदेखि वर्षभरि सञ्चालन गर्ने व्यवस्था गरिएको हो ।
सहुलियत पसलमा उपभोक्ताले दैनिक उपभोगमा प्रयोग हुने चामल, दाल, तेल, गेडागुडी, नुन, चिनी लगायतका खाद्य सामग्री खरिद गर्न सक्नेछन् । कम्पनीले उपलब्ध गराउने विभिन्न वस्तुमा सामान्य बजार मूल्यभन्दा छुट दिने व्यवस्था गरेको छ ।
एफएमटीसीका अनुसार हाल दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो वा प्रतिलिटर ५ रुपैयाँसम्म छुट उपलब्ध गराउने व्यवस्था गरिएको छ । सहुलियत पसलमार्फत करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्री तथा वितरण गरिने जनाएको छ ।
सरकारले सहुलियत पसल सञ्चालन तथा छुट उपलब्ध गराउन एफएमटीसीलाई ३ करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । उक्त रकमले वर्षभरि छुट दिन पर्याप्त नभए थप बजेट माग गर्ने तयारीसमेत कम्पनीले गरेको छ ।
यसै क्रममा एफएमटीसीले सिंहदरबार परिसरमा समेत सहुलियत बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले उक्त केन्द्रको उद्घाटन गर्दै उपभोक्तालाई सहज रूपमा गुणस्तरीय र उचित मूल्यका खाद्य सामग्री उपलब्ध गराउन सार्वजनिक संस्थानले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।
वर्षैभरि सहुलियत पसल सञ्चालनमा आएपछि दैनिक उपभोग्य वस्तुको मूल्यमा केही राहत पुग्ने र बजारमा मूल्य नियन्त्रण तथा उपभोक्ता हित संरक्षणमा सहयोग पुग्ने सरकारको अपेक्षा छ ।