पाँच दशकदेखिको पोखरेली सपना पूरा, पोखरा–दुबई नियमित उडान सुरु

1k Shares

काठमाडौँ । लामो समयदेखि अन्तर्राष्ट्रिय नियमित उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित व्यावसायिक उडान सुरु भएको छ। फ्लाई दुबईले बुधबारदेखि दुबई–पोखरा–दुबई नियमित उडान थालेसँगै विमानस्थलमा चहलपहल बढेको हो।

फ्लाई दुबईको पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागत र पोखराबाट दुबई जाने यात्रुको बिदाइका लागि विमानस्थलमा आफन्त, पर्यटन व्यवसायी, जनप्रतिनिधि तथा सरकारी अधिकारीको उपस्थिति थियो। पहिलोपटक दुबईबाट सीधा उडानमार्फत पोखरा आएका यात्रुलाई स्थानीयस्तरमा स्वागत गरिएको थियो।

कतिपय सर्वसाधारण भने फ्लाई दुबईको जहाज हेर्नकै लागि विमानस्थल परिसर पुगेका थिए। यसअघि विभिन्न वायुसेवा कम्पनीले पोखरामा अन्तर्राष्ट्रिय चार्टर उडान गरे पनि नियमित व्यावसायिक उडान हुन सकेको थिएन।

दुबईबाट पहिलो उडानमा आएका पोखरा महानगरपालिका–३२ का कृष्णबहादुर खड्काले जहाजबाट आफ्नो गाउँ र रूपाताल हेर्दै पोखरा ओर्लँदाको अनुभव विशेष रहेको बताए।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्थानीयवासीले लामो समयदेखि गरेको संघर्ष स्मरण गर्दै नियमित उडान सुरु हुनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले दुबईलाई ट्रान्जिट बनाएर विश्वका विभिन्न मुलुकबाट पोखरा आउन सहज हुने बताए। उनका अनुसार यसले पर्यटनसँगै आर्थिक गतिविधिमा समेत अवसर सिर्जना गर्न सक्नेछ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–दुबई सीधा उडानलाई पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरे।

फ्लाई दुबईको बोइङ ७३७ म्याक्स ८ जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे चार घण्टाको उडानपछि बुधबार साँझ ६ः१९ बजे पोखरा अवतरण गरेको थियो। ११३ जना यात्रु लिएर आएको जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहोरा दिएर स्वागत गरिएको थियो। पोखराबाट साँझ ७ः५५ बजे १५२ जना यात्रु लिएर जहाज दुबई फर्किएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

उनका अनुसार नियमित उडानले पोखरासहित गण्डकी प्रदेशको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुनुका साथै पर्यटन प्रवर्द्धन र यात्रु आवागमन सहज हुने अपेक्षा गरिएको छ। दुबई हुँदै युरोप, अमेरिका लगायतका विभिन्न गन्तव्यमा जाने यात्रुलाई समेत यसबाट सहजता हुने बताइएको छ।

पहिलो उडानमा आएका यात्रुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डा. मुकेश डङ्गोल, विमानस्थलका अधिकारी तथा पर्यटन व्यवसायीले स्वागत गरेका थिए।

नाट्टा गण्डकीकी अध्यक्ष सङ्गीता पौडेलका अनुसार नेपाल पर्यटन बोर्डको सहयोगमा यात्रुलाई विशेष उपहारसमेत प्रदान गरिएको थियो। होटल तथा रेष्टुराँ व्यवसायीले पनि आफ्ना सेवामा छुटका योजना ल्याएका छन्।

फ्लाई दुबईको नियमित उडान सुरु भएको अवसरमा पोखरामा आयोजना गर्ने भनिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्सका राजपरिवारका सदस्य शेख अहमद बिन राशिद अल मक्तुमको निधनका कारण रद्द गरिएको थियो।

सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न विमानस्थलका विभिन्न शुल्कमा छुट दिने व्यवस्था गरेपछि फ्लाई दुबईले उडान सुरु गरेको हो।

सरकारले २०८५ भदौ मसान्तसम्म विमानस्थलको पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

फ्लाई दुबईबाट आउने यात्रुलाई लक्षित गर्दै पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले पनि छुट योजना सार्वजनिक गरेका छन्। होटल सङ्घ पोखराले पहिलो तीन महिनाका लागि २५ प्रतिशतसम्म छुट दिने जनाएको छ भने रेवान पोखराले आबद्ध रेष्टुराँमा १५ देखि २० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ।

फ्लाई दुबईको तालिकाअनुसार पोखरामा दैनिक साँझ ६ः१५ बजे जहाज अवतरण गर्ने र ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने व्यवस्था छ।

फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक ‘कोडसेयर’ साझेदारीअन्तर्गत सञ्चालन हुने यो उडानमार्फत दुबई हुँदै अष्ट्रेलिया, युरोप र अमेरिकालगायतका गन्तव्यमा यात्रा गर्ने यात्रुलाई थप विकल्प उपलब्ध हुने बताइएको छ। फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ।

यससँगै लामो समयदेखि अन्तर्राष्ट्रिय नियमित उडानको प्रतीक्षामा रहेको पोखरा विश्वव्यापी हवाई सञ्जालसँग जोडिने प्रक्रियामा अघि बढेको छ। (रासस)

सम्बन्धित समाचार