काठमाडौँ । दशैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा सरकारले सडक यात्रा सहज र सुरक्षित बनाउन सडक मर्मत तथा व्यवस्थापनको काम तीव्र पारेको छ। पछिल्लो समय आएको बाढीपहिरोका कारण देशका विभिन्न सडकखण्ड जीर्ण र जोखिमपूर्ण बनेपछि सरकारले मुख्य राजमार्ग तथा रणनीतिक सडकलाई प्राथमिकतामा राखेको हो।
सडक विभागका अनुसार चाडपर्वलाई लक्षित गरी देशभरका संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा २४० भन्दा बढी भारी उपकरण तयारी अवस्थामा राखिएको छ। सम्भावित बाढीपहिरोका कारण सडक अवरुद्ध भएमा उपकरण आधा घण्टाभित्र घटनास्थलमा पुर्याई बढीमा दुई घण्टाभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको विभागले जनाएको छ।
उपकरण सञ्चालनमा इन्धन अभाव नहोस् भनेर कम्तीमा ४८ घण्टालाई पुग्ने डिजेल तथा आवश्यक इन्धनसमेत सम्बन्धित क्षेत्रमा पठाइएको छ। साथै इन्जिनियर, सब–इन्जिनियर, सुपरभाइजर तथा मेसिन अपरेटरलाई २४ घण्टा परिचालन गरिएको छ। आवश्यक परे निजी क्षेत्रबाट समेत तत्काल भारी उपकरण भाडामा लिन सकिने व्यवस्था गरिएको विभागले जनाएको छ।
विभागले चाडपर्व लक्षित सडक व्यवस्थापनलाई मुख्यतः दुई पक्षमा अघि बढाएको छ। बाढीपहिरोका कारण अवरुद्ध वा बगेका सडक तत्काल सञ्चालनमा ल्याउने तथा नयाँ ट्र्याक खोल्ने काम भइरहेको छ। त्यस्तै, मनसुनका कारण सडकमा बनेका खाल्डाखुल्डी पुर्ने, धुलो नियन्त्रण गर्ने र सडक सतहलाई सवारीसाधन सञ्चालनयोग्य बनाउने काम पनि तीव्र पारिएको छ।