आज ६० भन्दा बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम, यी क्षेत्रमा बढी खतरा

1k Shares

काठमाडौं । आज देशका ६० भन्दा बढी जिल्लाका नदी तथा खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने कोशी र बागमतीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने अनुमान छ।

विभागका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। मधेससहित तराईका विभिन्न क्षेत्रमा पनि वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

यसैबीच, विभागको हाइड्रोलोजिकल निगरानीमा १ घण्टामा ६० मिलिमिटर, ३ घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १०० मिलिमिटर तथा १२ घण्टामा १२० मिलिमिटर वर्षा पुगेमा जोखिमको संकेत मानिएको छ। यस्तो वर्षाले पहाडी क्षेत्रमा पहिरो तथा स्थानीय खोलानालामा पानीको बहाव तीव्र बनाउन सक्छ।

वर्षाका कारण नदी, खोला तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। बाढी तथा मौसमसम्बन्धी थप जानकारीका लागि विभागले टोल फ्री नम्बर ११५५ समेत उपलब्ध गराएको छ।

 
 
 
सम्बन्धित समाचार