भारी वर्षाको सम्भावनापछि बुटवलमा दुई दिन विद्यालय बन्द

953 Shares

बुटवल । सम्भावित भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने विपद्को जोखिमलाई ध्यानमा राख्दै बुटवल उपमहानगरपालिकाभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ।

मौसम पूर्वानुमानअनुसार आगामी दिनमा विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने सम्भावना रहेकाले विद्यार्थीको सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, सडक तथा बस्तीमा डुबान हुन सक्ने र आवतजावतमा समेत समस्या आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको जनाइएको छ।

यस अवधिमा विद्यार्थीलाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा नजान आग्रह गरिएको छ। साथै आवश्यक परेको अवस्थामा सुरक्षित विद्यालय भवनलाई विपद् प्रभावितका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने व्यवस्था मिलाउन पनि सम्बन्धित निकायले आग्रह गरेको छ।

भारी वर्षाको सम्भावना रहेकाले स्थानीय प्रशासन तथा सम्बन्धित निकायले सर्वसाधारणलाई समेत सतर्कता अपनाउन आग्रह गरेका छन्।

सम्बन्धित समाचार