काठमाडौँ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ। पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार सबैभन्दा धेरै वर्षा पाल्पाको बल्ढ्याङगढी क्षेत्रमा मापन भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा १६४ मिलिमिटर वर्षा भएको छ। पाल्पा र कपिलवस्तुसहित लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको जनाइएको छ।
बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै जाने र आगामी दिनमा थप शक्तिशाली बन्ने सम्भावना रहेको विभागले जनाएको छ। यसको प्रभावले देशका धेरै स्थानमा वर्षाको क्षेत्र र मात्रा बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्।
आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी तथा लुम्बिनी र मधेसका एक–दुई स्थानमा समेत भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, कोशी र बागमतीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।