जापान (नागोया) — नेपाल पुरुष कबड्डी टोलीले जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदमा पहिलो जित हात पारेको छ। नेपालले बिहीबार भएको खेलमा मलेसियालाई ७३–५२ अंकले पराजित गरेको हो।
तोकाई सिटिजन जिम्नाजियममा भएको खेलमा नेपालले सुरुआतदेखि नै प्रभावशाली प्रदर्शन गरेको थियो। पहिलो हाफमै नेपालले ३७–२१ को बलियो अग्रता बनाएको थियो। पहिलो हाफमा नेपालले आउटबाट ३०, बोनसबाट ३ र अलआउटबाट ४ अंक जोडेको थियो।
दोस्रो हाफमा पनि नेपालले आफ्नो अग्रता कायम राख्दै ३६ अंक थप्यो। मलेसियाले दोस्रो हाफमा ३१ अंक जोडेको थियो। दोस्रो हाफमा पनि नेपालले एकपटक मलेसियालाई अलआउट गर्न सफल भयो।
यो जितसँगै नेपालले प्रतियोगितामा पहिलो सफलता दर्ता गरेको हो। यसअघि नेपालले समूह चरणका तीन खेलमा लगातार हार बेहोरेको थियो।
नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो। त्यसपछि पाकिस्तानसँग ५८–४३ तथा इरानसँग ७६–२३ को फराकिलो अन्तरले पराजित भएको थियो।
नेपाल र मलेसिया दुवै टोली यसअघि खेलेका तीन खेलमा पराजित भएपछि सेमिफाइनलको दौडबाट बाहिरिसकेका थिए। त्यसैले बिहीबारको खेल दुवै टोलीका लागि प्रतियोगितामा पहिलो जित दर्ता गर्ने अवसरका रूपमा रहेको थियो।
नेपालले अन्तिम खेलमा मलेसियालाई हराउँदै एसियाली खेलकुदको पुरुष कबड्डीमा आफ्नो अभियान सुखद जितका साथ टुंग्याएको छ।