जोखिम बढेपछि बीपी राजमार्गमा रातिको यातायात बन्द

855 Shares

काभ्रेपलाञ्चोकको बीपी राजमार्ग खण्डमा सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।

मनसुन प्रतिकार्य कमान्डपोस्ट काभ्रेपलाञ्चोकको निर्णयअनुसार असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा सवारी सञ्चालन गर्न नपाइने भएको हो।

सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राखेर यात्रुको सुरक्षाका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। जोखिमको अवस्था हेरी आवश्यक परे दिनको समयमा समेत सवारी सञ्चालन रोक्न सकिने व्यवस्था गरिएको छ।

प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई पूर्वसूचनाप्रति सचेत रहन तथा अत्यावश्यक अवस्थाबाहेक जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेको छ।

 
 
 
सम्बन्धित समाचार