राजदूत पदबाट फिर्ता बोलाइएपछि शिवमाया पार्टी राजनीतिमा फर्किँदै
1.4k
Shares
काठमाडौं । दक्षिण कोरियाका लागि नेपाली राजदूतबाट फिर्ता बोलाइएकी डा. शिवमाया तुम्बाहाङ्फे पुनः पार्टी राजनीतिमा सक्रिय हुने भएकी छन्। सरकारले उनलाई राजदूत पदबाट फिर्ता बोलाएपछि एमाले राजनीतिमा उनको पुनरागमनको बाटो खुलेको हो।
तुम्बाहाङ्फे लामो समयदेखि नेकपा एमालेसँग आबद्ध नेतृ हुन्। उनी एमालेको केन्द्रीय कमिटी सदस्यसमेत भइसकेकी छन्। यसअघि उनले प्रतिनिधिसभाको उपसभामुख तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।
पछिल्लो समय उनी दक्षिण कोरियाका लागि नेपाली राजदूतका रूपमा कार्यरत थिइन्। सरकार परिवर्तनपछि राजनीतिक कोटाबाट नियुक्त भएका केही राजदूतलाई फिर्ता बोलाउने निर्णयअन्तर्गत तुम्बाहाङ्फेलाई पनि फिर्ता बोलाइएको थियो।
राजदूत पदबाट फर्किएसँगै तुम्बाहाङ्फे एमालेको आन्तरिक राजनीतिमा पुनः सक्रिय हुने तयारीमा रहेको बताइएको छ। एमालेमा अहिले संगठन पुनर्गठन, नेतृत्व संरचना तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल भइरहेका बेला उनको पुनरागमनलाई पनि पार्टीभित्र चासोका साथ हेरिएको छ।
तुम्बाहाङ्फे पूर्वी नेपालबाट विद्यार्थी राजनीतिमार्फत सक्रिय राजनीतिमा प्रवेश गरेकी हुन्। एमालेको नवौँ महाधिवेशनबाट उनी केन्द्रीय कमिटीमा निर्वाचित भएकी थिइन्।