धादिङको कृष्णभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग ठप्प

883 Shares

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

अविरल वर्षाका कारण कृष्णभीर क्षेत्रमा पहिरो खसेपछि राजमार्गमा सवारीसाधनको आवागमन प्रभावित भएको हो। पहिरोका कारण सडकमा ठूलो मात्रामा माटो तथा लेदो थुप्रिएको बताइएको छ।

पृथ्वी राजमार्गमा पछिल्ला दिनमा लगातार पहिरोको जोखिम देखिँदै आएको छ। केही दिनअघि पनि कृष्णभीर र धादिङकै अन्य स्थानमा पहिरो खसेपछि राजमार्गमा एकतर्फी यातायात सञ्चालन गरिएको थियो।

यसअघि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीरमा सडक कटान भएपछि पृथ्वी राजमार्ग १८ दिनसम्म अवरुद्ध भएको थियो। त्यसपछि नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि राजमार्ग सञ्चालनमा ल्याइएको थियो।

राजमार्ग सञ्चालनमा आए पनि कृष्णभीरलगायतका क्षेत्रमा सडक भासिने, पहिरो खस्ने तथा ढुंगा-माटो झर्ने जोखिम कायमै रहेको भन्दै सम्बन्धित निकायले यात्रुलाई सावधानी अपनाउन आग्रह गर्दै आएका छन्। पछिल्लो वर्षाका कारण धादिङमा बाढी, पहिरो र डुबानको जोखिम बढेपछि प्रशासनले रातिको समयमा पृथ्वी राजमार्गमा सवारी सञ्चालनमा समेत रोक लगाएको थियो।

पहिरो पन्छाउने कामपछि राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। सडकको अवस्था हेरेर मात्र यात्रा गर्न र जोखिमयुक्त स्थानमा नरोकिन यात्रु तथा चालकलाई आग्रह गरिएको छ।

सम्बन्धित समाचार