‘हतियार ७२ घण्टामा पुग्छ, किसानलाई मल–इन्धन किन पुग्दैन ?’:प्रधानमन्त्री बालेन्द्र शाह

2.4k Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढी जलवायु परिवर्तनबाट सिर्जित विश्वव्यापी संकटको गम्भीर उदाहरण भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै उनले नेपालले जलवायु परिवर्तनमा नगण्य योगदान गरे पनि त्यसको ठूलो मूल्य चुकाइरहेको बताए।

प्रधानमन्त्री शाहले भोटेकोशी बाढीलाई नेपालका लागि मात्र नभई विश्वकै लागि चेतावनीका रूपमा लिनुपर्ने बताए। उनले प्रश्न गरे, ‘भोटेकोशीले दिएको त्यो चेतावनी के विश्व समुदायले सुन्यो?’

उनले नेपालले यो विषयलाई कुनै देशविरुद्ध दोषारोपण गर्ने वा भूराजनीतिक विवादको विषय बनाउने पक्षमा नरहेको स्पष्ट पारे। तर जलवायु विपद्पछि सिर्जित चुनौती सामना गर्न नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताए।

शाहका अनुसार नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो मूल्य वर्षेनी चुकाइरहेको छ। हिमनदीमुनिको पर्माफ्रस्ट पग्लिँदा पहाडी भिरालाहरूमा चिरा पर्न थालेको र हिमपहिरो, बाढी तथा पहिरोको जोखिम बढिरहेको उनले बताए।

प्रधानमन्त्रीले जलवायु न्यायलाई संयुक्त राष्ट्रसङ्घका दस्तावेजमा सीमित ‘सुन्दर वाक्यांश’ नभई व्यवहारमा अनुभूत हुने विषय बनाउनुपर्नेमा जोड दिए। स्थानीय तहमा अनुकूलनका कार्यक्रमलाई थप बलियो बनाउने नेपालको प्रतिबद्धता पनि उनले व्यक्त गरे।

भोटेकोशी बाढीबाट ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै उनले हिलो, ढुङ्गा र पानीका कारण केही शव कहिल्यै फेला नपर्न सक्ने अवस्था रहेको बताए। विपद्पछि नेपाललाई पुनरुत्थान र पुनर्निर्माणका लागि विश्व समुदायको सहयोग आवश्यक रहेको उनको भनाइ थियो। उनले विपद्का बेला भारत र चीनले गरेको सहयोगको प्रशंसा गरे।

शाहले जलवायु संकटसँग जुध्न नेपाल, भारत र चीनबीच संयुक्त संयन्त्र निर्माण गर्नुपर्ने प्रस्ताव पनि अघि सारे। जोखिमपूर्ण हिमतालको निगरानी, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा हिमाली क्षेत्रमा जलवायु जोखिम न्यूनीकरणका लागि तीन देशबीच सहकार्य आवश्यक रहेको उनले बताए।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विश्वको प्राथमिकतामाथि पनि प्रश्न उठाए। अन्तरमहादेशीय क्षेप्यास्त्र, राइफल तथा गोलाबारुद तोकिएकै समयमा गन्तव्यमा पुग्ने तर नेपाली किसानले आवश्यक पर्दा बजार मूल्यमै मल वा इन्धनसमेत पाउन नसक्ने अवस्था रहेको उनले बताए।

‘७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सक्ने क्षमता भएको विश्वले किसानलाई मर्यादित जीविकोपार्जनका साधनबाट वञ्चित राख्नु हुँदैन’ भन्ने धारणा राख्दै उनले युद्ध र हतियारभन्दा मानव जीवन, खाद्य सुरक्षा र दिगो विकासलाई प्राथमिकता दिनुपर्ने बताए।

धनी राष्ट्रहरू युद्ध र हतियारमा केन्द्रित हुँदा साना तथा गरिब राष्ट्रहरू थप कमजोर बन्दै गएको उनको भनाइ थियो।

सम्बोधनमा प्रधानमन्त्री शाहले नेपालको पछिल्लो राजनीतिक प्रक्रियाको समेत उल्लेख गर्दै फागुन २१ गतेको निर्वाचन नेपालको इतिहासमै निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए। नेपाली नागरिकले आफ्ना हकअधिकार प्रयोग गर्दै आफ्नो उज्ज्वल भविष्य आफैँ निर्माण गर्न पाउनुपर्ने उनको धारणा थियो।

उनले नेपालले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य खोजिरहेको उल्लेख गर्दै जलवायु न्याय, विपद् व्यवस्थापन, पूर्वसूचना प्रणाली, पुनर्निर्माण र हिमाली वातावरण संरक्षणमा विश्व समुदायको ठोस प्रतिबद्धता आवश्यक रहेको बताए।

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनका प्रमुख बुँदा:

१. भोटेकोशी बाढी र विपद् विश्वव्यापी जलवायु परिवर्तनका कारण सिर्जना भएको हो।

२. नेपाल यस मुद्दामा कुनै पनि देशलाई दोष लगाउन र यसलाई भूराजनीतिको विषय बनाउन चाहँदैन।

३. बाढी विपद्पछि नेपालमा सिर्जना भएको चुनौतीपूर्ण अवस्थासँग जुध्न विश्व समुदायले सहयोग गर्नुपर्छ।

४. फागुन २१ को निर्वाचन नेपालको इतिहासमै निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न भयो।

५. भोटेकोशी बाढी विश्वकै लागि चेतावनी र चुनौतीपूर्ण थियो; के विश्व समुदायले त्यो चेतावनी सुन्यो?

६. नेपालले कम विकसित देश (एलडीसी) भएर पनि आफ्नो दायित्वभन्दा बढी वातावरणीय योगदान गरिरहेको छ।

७. जलवायु विपद्को सामना गर्न स्थानीय स्तरमा अनुकूलनका कार्यक्रमहरूलाई थप बलियो बनाउँदै लैजाने प्रतिबद्धता।

८. जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन, यो व्यवहारमा देखिनुपर्छ।

९. नेपाली नागरिकले आफ्नो हक अधिकार प्रयोग गरेर आफ्नो उज्ज्वल भविष्य आफैँ निर्माण गर्न पाउनुपर्छ।

१०. नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो मूल्य बर्सेनी चुकाइरहनु परेको छ।

११. अन्तरमहादेशीय क्षेप्यास्त्र र राइफल तथा गोलाबारुद तोकिएकै समयमा पुग्ने तर नेपालीलाई आवश्यक पर्दा बजार मूल्यमै पनि मल वा इन्धन पाउन नसक्ने अवस्था छ।

१२. ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सक्ने क्षमता भएको विश्वले किसानलाई मर्यादित जीविकोपार्जनका साधनबाट वञ्चित राख्नु हुँदैन।

१३. भोटेकोशी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ; हिलो, ढुङ्गा र पानीका कारण केही शवहरू कहिल्यै फेला नपर्न सक्छन्।

१४. हिमनदीमुनिको पर्माफ्रस्ट पग्लिँदा पहाडी भिरालाहरूमा चिरा पर्दै गएको छ भने हिमपहिरो, बाढी र पहिरोजस्ता विपद्को जोखिम बढिरहेको छ।

१५. नेपाललाई पुनरुत्थान र पुनर्निर्माणमा विश्व समुदायको खाँचो छ; विपद्का बेला भारत र चीनले गरेको सहयोग प्रशंसनीय छ।

१६. धनी राष्ट्रहरू युद्ध र हतियारमा केन्द्रित हुँदा साना र गरिब राष्ट्रहरू थप कमजोर बनिरहेका छन्।

१७. जलवायु सङ्कटसँग जुध्न, जोखिमपूर्ण हिमतालको निगरानी गर्न र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन नेपाल, भारत र चीनबीच संयुक्त संयन्त्र बनाउनुपर्छ।

सम्बन्धित समाचार