फार्मेसीको दर्ता प्रमाणपत्र भाडामा दिने र अरूको नाममा पसल चलाउने विकृति कायमै
1.3k
Shares
काठमाडौं । नेपालमा फार्मेसी सञ्चालनका लागि आवश्यक दर्ता प्रमाणपत्र तथा लाइसेन्स अरूलाई प्रयोग गर्न दिने र अर्कै व्यक्तिको नाममा औषधि पसल सञ्चालन गर्ने प्रवृत्ति अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। नेपाल फार्मेसी परिषद्का अनुसार फार्मेसीको संख्या र दर्तावाला फार्मासिस्ट तथा फार्मेसी सहायकको संख्याबीच ठूलो असन्तुलन देखिएको छ।
परिषद्को पछिल्लो तथ्यांकअनुसार नेपालमा ८ हजार ५६३ जना फार्मासिस्ट र १७ हजार ६९२ जना फार्मेसी सहायक दर्ता भएका छन्। तर औषधि व्यवस्था विभागमा ३३ हजार २९९ औषधि विक्रेताहरू दर्ता रहेकोमा १५ हजार ३४ जनाले मात्रै इजाजतपत्र नवीकरण गरेका छन्। यसले नवीकरण नभएका वा खारेज भएका इजाजतपत्रबाट समेत औषधि बिक्री वितरण हुने जोखिम देखाएको छ।
औषधि ऐन, २०३५ को दफा १७ ले औषधि बिक्री तथा वितरणका क्रममा फार्मासिस्ट वा फार्मेसी सहायकको उपस्थिति आवश्यक हुने व्यवस्था गरेको छ। तर व्यवहारमा दर्ता प्रमाणपत्र भाडामा दिने तथा आफ्नो नाममा दर्ता भएको फार्मेसी अरू व्यक्तिबाट सञ्चालन गराउने समस्या देखिएको सरोकारवालाहरूको भनाइ छ।
नेपाल फार्मेसी परिषद्ले यस्तो विकृति नियन्त्रण गर्न दर्तावाला फार्मासिस्टको विवरण डिजिटल प्रणालीमा समेटेर उपभोक्ता तथा नियामक निकायले सम्बन्धित व्यक्तिको उपस्थिति र दर्ता विवरण जाँच गर्न सक्ने व्यवस्था गरेको जनाएको छ। परिषद्ले फार्मासिस्टहरूलाई आफ्नो व्यावसायिक जिम्मेवारी आफैं पूरा गर्न र आफ्नो दर्ता प्रमाणपत्र अरूलाई प्रयोग गर्न नदिन आग्रह गरेको छ।
सरोकारवालाहरूले पुरानो कानुनी व्यवस्था तथा नीतिगत अस्पष्टता हटाउँदै फार्मेसी क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउनुपर्ने माग गरेका छन्। औषधि व्यवस्था विभागले पनि सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिको पहुँच सुनिश्चित गर्न नियामक निकाय, उद्योग, अस्पताल तथा शैक्षिक संस्थाबीच समन्वय आवश्यक रहेको जनाएको छ।
औषधि मानिसको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले फार्मेसी सञ्चालनमा योग्य जनशक्तिको उपस्थिति तथा नियमको प्रभावकारी कार्यान्वयनलाई महत्वपूर्ण मानिएको छ।