काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज अपराह्न ३ बजे बसन्तपुर पुगेर इन्द्रजात्राको मुख्य समारोह अवलोकन गर्ने भएका छन्।
राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित बसन्तपुर पुग्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति दम्पतीलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वागत गर्ने कार्यक्रम छ।
राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेर इन्द्रजात्रा अवलोकन गर्नेछन्।
इन्द्रजात्राका अवसरमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाउने तथा रथयात्रा सञ्चालनका लागि अनुमति दिने परम्परा रहेको छ।
हनुमानढोका दरबार क्षेत्रमा भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गरेसँगै सुरु हुने इन्द्रजात्राको आज मुख्य दिन हो। काठमाडौं उपत्यकामा विशेष महत्त्वका साथ मनाइने यो जात्रामा विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधि आयोजना हुने गर्छन्।