सप्तकोशीमा २ लाख ४० हजार क्युसेक पानी, ३१ ढोका खुला

1.2k Shares

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएको छ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशीमा जलसतह बढेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार शुक्रबार दिउँसो २ बजे कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४० हजार ५५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको हो।

यसअघि शुक्रबार बिहान १० बजे पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९८ हजार २२० क्युसेक मापन गरिएको थियो। त्यसबेला २५ वटा ढोका खोलिएका थिए। दिउँसो १ बजे बहाव बढेर २ लाख २९ हजार ९६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएको थियो। त्यसको एक घण्टामै बहाव थप बढेपछि ३१ वटा ढोका खोलिएको हो।

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई जोखिमबारे सचेत गराउन पश्चिमतर्फ रातो बत्ती बाल्ने व्यवस्था छ। पानीको बहाव निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। साथै कोशी नदीमा माछा मार्ने तथा दाउरा संकलन नगर्न पनि अनुरोध गरिएको छ।

वर्षा जारी रहेकाले सप्तकोशीमा पानीको बहाव अझ बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन आग्रह गरेको हो।

कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी कुल ५६ वटा ढोका रहेका छन्।

सम्बन्धित समाचार